२ सय वर्षअघि नेपालले विभिन्न ठाउँमा अंग्रेज फौजसँग युद्ध लडेको थियो।
वि.सं. १८७१ पुसदेखि १८७२ सम्म भएका युद्धमा अमरसिंह थापा, उजीरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापालगायतले आफ्नो युद्ध कौशलता देखाएका थिए।
बुटवलमा भएको युद्धमा नेपालले अंग्रेजलाई परास्त गरेको थियो।
पाल्पा–बुटवल क्षेत्र हात पार्न जनरल उड नेतृत्वको टोली नेपालतर्फ बढिरहेको थियो। अंग्रेज फौज गोरखपुरबाट पाल्पा राज्य कब्जा गर्न भन्दै नेपालतर्फ अघि बढेको थियो। फौज बुटवल आइसकेपछि नेपाली सेनासँग घमासान युद्ध भयो। युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो।
जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे। आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो। दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजमाथि आक्रमण गरे।
पाल्पा-बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजीरसिंह थापा नेतृत्वको नेपाली फौज कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि ७ वैशाख १८७२ मा विजयी भयो । नेपालले अंग्रेज माथि जितेको बुटवलको त्यो ठाउँलाई अहिले जितगढी भनिन्छ।
युद्धमा विजय हासिल गरेपछि उजीरसिंह पाल्पामा पुगी विजयोत्सव मनाएका थिए। त्यसकै सम्झनामा पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट रणउजेश्वरी भगवती जात्रा गरी विजयोत्सव मनाइन्छ।
पाँच सय वर्गफिट इलाकामा फैलिएको जितगढीको पूर्वपश्चिम लम्बाई २ सय ५ फिट छ र चौडाई करिब ५५ फिट रहेको छ। गढीको जग निकै फराकिलो छ र गाह्रो क्रमशः माथितिर साँघुरो हुँदै गएको छ। गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाई ८ फुट ४ इन्च रहेको छ। गढीको भित्री भाग खुला छ।
करिब बाह्र लाखदेखि पन्ध्र लाख इट्टा प्रयोग भएका छन्। केही इट्टा १० इन्च वर्गाकारका छन्। केहीको लम्बाई र चौडाई क्रमशः ८.६ इन्च, ६ छ। गढीको निर्माण शैली अन्य प्राचीन गढीको जस्तै छ। गढीको वरिपरि युद्ध सुविधाको लागि विभिन्न किसिमका चरहरुको निर्माण गरिएको छ।
तिनाउ नदीको दायाँ किनारमा रहेको यो गढी १६ औँ शताब्दीमा सेनहरूले निर्माण गरेको विश्वास गरिन्छ।
वि.सं. २०५२ सालमा पुरातत्व विभागले देशभरका गढी संरक्षण गर्ने क्रममा गढीको पर्खालबीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिँदा पुरिएको पर्खालको पेटी भेटिएको थियो।
उजीरसिंहको समयभन्दा अघिदेखि नै गढीको अस्तित्व रहेको बताइएपनि यसको पुष्टि भने हुन सकेको छैन।
आर्थिक वर्ष २०६९/०७० र ०७०/०७१ मा पुरातत्व विभागले जितगढीमा दुईपटक उत्खनन गरेको थियो। उत्खननका क्रममा जितगढी परिसरभित्र प्राचीन वस्तु भेटिएका थिए।
विहीबार जितगढीमा विजयोत्सव मनाइँदै
२०८ वर्षअघि अंग्रेजसँगको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार जितगढी विजय उत्सव मनाइँदैछ।
१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजीरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको सम्झनामा प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ।
बिहीबार जितगढी उत्सव मूल समारोह, गोरखादेखि पदयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गरी पदयात्रा समापन गरिने कार्यक्रम रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।
बिहान १० बजे सेनाको पैदलयात्री टोलीलाई स्वागत गरिएको छ। दिउँसो साढे १२ बजे जितगढी किल्लामा मुल समारोहको कार्यक्रम गरी यात्रा समापन गरिने उनले बताए।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथिको रूपमा निमन्त्रण गरिएको थियो। तर राष्ट्रपति पौडेल बिरामी भई स्वास्थ्य उपचारको लागि भारत गएपछि रुपन्देही २ का प्रतिनिधि सभासदस्य विष्णु प्रसाद पौडेललाई कार्यक्रममा बोलाइएको छ।
Shares
प्रतिक्रिया