नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तबारे आइतबारदेखि जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको छ।
अभियुक्तहरुको थुनछेक बहस चलिरहँदा न्यायाधीश न्यौपानेले नक्कली भुटानी शरणार्थी बनेर अमेरिकामा जान तयारहरुलाई पनि कारबाही गर्नुपर्ने विषयमा कुरा उठाएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधिवक्ता महेश खत्रीसँगको सवाल जवाफका क्रममा न्यायाधीश न्यौपानेले नक्कली शरणार्थी बन्न तयारहरुको पनि दोष किन नहुने भनेर प्रश्न उठाएका हुन्।
‘नेपाली नागरिकता त्याग्न तयार भएकाहरु, आफ्नो नाम ठेगाना बदल्दै नेपाली नभएर भुटानी शरणार्थी बनेर जान तयार हुनेहरुको पनि केही दोष त होला नि?’, उनले सरकारी वकिललाई सोधे, ‘संविधानको धारा ४८ मा नागरिकका पनि कर्तव्यका कुरा छन्।’
न्यायाधीश न्यौपानेको प्रश्नको जवाफ दिने क्रममा सरकारी वकिल खत्रीले यसअघि १ लाख १३ हजार भुटानी शरणार्थी पुनर्स्थापना गर्दै केही नेपाली अमेरिका छिरेको खुलाए।
‘यसअघि १ लाख १३ हजार भुटानी शरणार्थी अमेरिकासहितका देशमा पुनर्स्थापनाका लागि जाँदा पनि केही नेपाली छिरेका रहेछन्’, उनले जवाफमा भने, ‘उनीहरुको पनि केही बाध्यता होला। तर जाहेरवाला (ठगिएकाहरु) पनि प्रतिवादी बनेर आउँछन्। उनीहरुमाथि पनि कारबाही हुन सक्छ।’
तर न्यायाधीश न्यौपानेले ठगिएको भनिएकालाई किन प्रतिवादी नबनाइएको भनेर सोधेको प्रश्नमा खत्रीले आवश्यक प्रमाण नपुगेको बताए।
‘उनीहरुलाई किन प्रतिवादी बनाइएन भन्ने सवालमा हामी पनि ठगियौँ भन्ने मान्छे चाहियो। साक्षी चाहियो। सरकारी वकिलले मात्रै बोलेर भएन’, उनले भने, ‘त्यसमा जति जाहेरवालाहरु छन् उनीहरु पनि विपक्षमा आउँछन्। कानुनी दायरामा आउँछन्।’
Shares
प्रतिक्रिया