ad ad

समाज


‘ढेडु बुढाले’ वान एक्स बेटमा यसरी ताने बल्छीधुर्बे, राजु मास्टर र भटभटेलाई

‘ढेडु बुढाले’ वान एक्स बेटमा यसरी ताने बल्छीधुर्बे, राजु मास्टर र भटभटेलाई

फाइल तस्बिर


नेपालखबर
असार २५, २०८० सोमबार १३:३०, काठमाडौँ

चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, राजु पौडेल ‘राजु मास्टर’ र बेगम नेपाली ‘भटभटे माइला’ यतिबेला हिरासतमा छन्। उनीहरुसहित ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। 

मुद्दा दर्ता हुनेमा कैलालीको लम्किचुहा नगरपालिका १० घर भई हाल काठमाडौं महानगरपालिका ७ चावाहिल बस्ने २८ वर्षीय दिनेश खड्का, उनकी पत्नी २९ वर्षीय अनिता धिताल छन्।

त्यसैगरी रोल्पा नगरपालिका ६ घर भई हाल कीर्तिपुर बस्ने युट्युबर २४ वर्षीय जलन घर्तीमगर, उदयपुर घर भई हाल ललितपुरको महालक्ष्मीथान बस्ने युट्युबर २८ वर्षीय एलिश राई, मुगु घर भई हाल ललितपुरको टीकाथली बस्ने १९ को गणेश देवकोटाविरुद्ध पनि मुद्दा चलाइएको छ।

प्युठान घर भई हाल काठमाडौंको कलंकी बस्ने २८ वर्षीय बेगम नेपाली, गोरखा घर भई हाल काठमाडौंको बनस्थली बस्ने ३५ वर्षीय मरिचमान श्रेष्ठ र स्याङ्जा घर भई काठमाडौं नयाँ बजार बस्ने राजु पौडेलविरुद्ध पनि मुद्दा चलाइएको छ।

यस्तै धनकुटा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने २९ वर्षीय रोशन खतिवडा, मोरङ घर भई हाल भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज

घिमिरे र मोरङको विराटनगर महानगरपालिका ४ का २४ वर्षीय कुशल पोखरेल रहेका छन्। पोखरेल भने हाल फरार छन्।

खड्का र धिताललाई राष्ट्र बैंक ऐन अन्तरगतको कसुरमा पनि सजाय गर्न माग गरिएको छ। 

उनीहरुले क्रिप्टो करेन्सीको वित्तीय कारोबार कुल बिगो ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ गरी सट्टेबाजी गराउने गरेको र आफूउपरको प्रमाण दबाउने कार्य गरेको अभियोग छ। 

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार यस अभियोगमा कसुरसँग सम्बन्धित बिगो जफत गरी त्यसको तीन गुणा जरिवाना र ७ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

कलाकारहरुलाई भने वान एक्स बेटको प्रचार गरेको आरोप छ। उनीहरुलाई विज्ञापन नियमन ऐन अन्तरगतको कसुरमा सजाय माग गरिएको छ। मरिचमान, राजुमास्टर र भटभटे माइलालाई पनि यही सजायअन्तर्गत सजाय माग गरिएको छ।

यो कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। सट्टाबाजीको कसुरमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। कलाकार र युट्युवरलाई यी दुई कसुरमा सजाय माग गरिएको छ। 

कलाकार सरोज घिमिरे 'ढेडु बुढो'

कसरी जोडिए यी कलाकार?
सरोज घिमिरेले ‘ढेडुबुढो’ दुई वटा युट्युब सञ्चालन गर्थे। करिब २ महिनाअघि उनलाई ईमेल आयो र अपरिचित व्यक्तिले टेलिग्राममा कुरा गर्न प्रस्ताव गरे। त्यसपछि उनले वान एक्स बेटका एजेन्टसँग टेलीग्राममा कुरा गरेर उनका च्यानलमा वान एक्स बेटसम्बन्धी विज्ञापन गर्ने कुरा भयो। 

कमाई हुन्छ भनेपछि सरोज विज्ञापन गर्न सहमत भए। वान एक्स बेटसम्बन्धी २० सेकेन्डको भिडिओ उनले सञ्चालन गरेको च्यानलमा अपलोड गरे। विज्ञापनमा ‘अहिले चलिरहेका खेलहरु हेरेर अनुमान लगाएर पैसा कमाउन सक्नुहुन्छ मेरो प्रोमो कोड हाल्नुस्’ भन्ने म्यासेज थियो। 

उनले दुई महिनाजति विज्ञापन बजाउँदा प्रतिभिडिओ १५ देखि २० हजारका दरले पैसा पाए। 

सरोजले त्यो विज्ञापन अरु व्यक्तिकहाँ पनि देखे। अनि उनले राजु पौडेलको मास्टर टिभी, बल्छी धुर्बे र भटभटे माइलालाई पनि सम्पर्क गराइदिएका थिए। 

वान एक्स बेटका एजेन्टसँग सरोजले सम्पर्क गराइदिएपछि उनीहरुले पनि विज्ञापन गरे। त्यहीबापत उनीहरुले पनि रकम लिएका थिए। 

सरोजले आफूलाई एउटा विज्ञापन बजाउनु प¥यो, त्यसबापत १५ देखि ४० हजार रुपैयाँसम्म आउँछ भनेकोले आफूले हुन्छ भनेर २० सेकेन्डको भिडिओ बजाएको बताएका छन्। 

भिडिओ सरोज घिमिरेले नै पठाइदिएकाले त्यसलाई पछि उनीसहितले तयार गरेर अपलोड गरी हल्का रमाइलो र जुठे नामको टेलिसिरियलको भिडिओको बीचमा प्रशारण गरेका थिए। त्यसवापत हालसम्म ५५ हजारजति लाभ लिएको उनको बयान छ। 

बल्छीधुर्बे भन्ने मरिचमान श्रेष्ठ पनि यसैगरी जोडिएका थिए। उनलाई पनि अर्का कलाकार ढेडुबुढो भन्ने सरोजले नै जोडेका थिए। 

मरिचमानले बयानका क्रममा आफूबाट गर्न नहुने काम भएको र गल्ती भएको स्वीकार गर्दै कानुन बमोजिम कारबाही होस् भनी बयान दिएका छन्। यसरी ५० हजारजति रकम लिएको बल्छीले बताएका छन्। 

भटभटे माइलालाई पनि सरोजले नै जोडेका थिए। उनले पनि आफ्नो च्यानल ‘गाह्रो छ हो’ मा उक्त विज्ञापन प्रशारण गरेका थिए। 

२० सेकेन्डको उक्त विज्ञापन तीन पटक बजाएर ८० हजारजति लाभ लिएको स्वीकार गरेका छन्। उनलाई रकमसमेत सरोज घिमिरेको खाताबाटै आउने गरेको थियो। 

यसरी सरोजमार्फत अरु तीन कलाकार वान एक्स बेटमा तानिएका थिए। उनीहरुको आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान सुरु हुनेछ। 

बयान सकिएपछि थुनछेक बहस हुनेछ। त्यसपछि उनीहरुलाई मुद्दाको पुर्पक्षका क्रममा थुनामा राख्ने कि थुनाबाहिर भन्ने आदेश हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .