ad ad

समाज


सशस्त्र प्रहरीका युनिटमा साउन १ देखि प्लाष्टिकजन्य वस्तु निषेधित

सशस्त्र प्रहरीका युनिटमा साउन १ देखि प्लाष्टिकजन्य वस्तु निषेधित

नेपालखबर
असार २५, २०८० सोमबार १८:१३, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालले आफ्नो सम्पूर्ण इकाईहरुमा प्लाष्टिकजन्य वस्तु निषेध गर्ने, केही प्लाष्टिकजन्य सामानको प्रयोग कम गर्दै लैजाने लक्ष्य  अनुरुप वातावरण संरक्षण र सशस्त्र प्रहरी कर्मचारीहरुमा सचेतना अभिबृद्धि गराई प्लाष्टिजन्य बस्तुको रिड्युस, रियुज र रिसाइकल गर्ने नीति लिएको छ।

सोही नीति अनुरुप आगामी साउन १ गतेदेखि सशस्त्र प्रहरी बल नेपालका इकाईहरुमा प्लाष्टिकजन्य वस्तु निषेध गरिने भएको छ, भने केहीको प्रयोग क्रमशः कम गर्दै लगिने सशस्त्रले जनाएको छ।

मानवीय क्रियाकलापमा विशेष गरी हरितगृह ग्याँस उत्सर्जन र ननडिग्राडेबल प्लाष्टिकजन्य वस्तुको बढ्दो प्रयोग र अव्यवस्थित विसर्जनले गर्दा जलवायु परिवर्तनमा विश्वव्यापी प्रभावहरु देखा परिरहेको विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानले प्रमाणित गरेको तथा मौसम परिवर्तनमा अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, तापक्रम वृद्धि र हिमनदी, हिमताल तीव्र गतिमा पग्लिँदै गईरहेको सन्दर्भमा यस प्रकारको थालनी गरिएको हो।

आगामी साउन १ गतेबाट सशस्त्र प्रहरी बल नेपालले आफ्ना युनिटहरुमा पोलिथिनका झोलाको प्रयोग, प्लाष्टिकबाट निर्मित फूल तथा गमला खरिद, डिसपोसेबल प्लास्टिकका सामानहरुको प्रयोग, मेश, बाथरुम र ट्वाईलेटमा समेत प्लाष्टिकका जग, मग, बाल्टी र बाटा लगायतका सामानहरु निषेध गर्ने निर्णय गरेको छ।

यसका साथै सोही मितिबाट राशन स्टोरमा प्लाष्टिकको झोला तथा बोरा, कार्यालयमा प्लाष्टिकका पानी बोतलहरु, क्यान्टिनमा प्लाष्टिकमा प्याक गरिएका सामानहरु बेचबिखन कार्य र फोहोर बाल्ने कार्य समेत सशस्त्र प्रहरी बल नेपालको युनिटहरुमा क्रमशः कम गर्दै लगिनेछ।

त्यस्तै, वातावरण संरक्षणका लागि सशस्त्र प्रहरी बल नेपालले खाद्यान्य भण्डारणको लागि प्लाष्टिक बाहेक टिन तथा काठको डिब्बा प्रयोग गर्ने, राशन सप्लायर्सलाई बिस्कुट तथा पाउरोटी लगायतका सामानहरु कागजको प्याकेटमा आपूर्ती गर्न अनुरोध गर्ने तथा फोहोरको वर्गीकरण गरी डस्टविनको व्यवस्था मिलाउने र सोही बमोजिम व्यवस्थापन गर्न स्थानीय तहहरुसँग समन्वय गरी काम गर्ने योजना बनाइएको एपीएफले जनाएको छ।

साथै आफ्नो कार्यालयहरुमा पानीको लागि पुनः प्रयोग गर्न सकिने जारहरुको प्रयोग गर्ने, युनिटमा हुने कार्यक्रमहरुमा कागज वा पातले बनेका नष्ट गर्न सकिने सामान प्रयोग, मेशहरुमा स्टिल, सीसा वा तामाको जग, मगको प्रयोग गर्ने, मेश, ट्वाइलेट, बाथरुम लगायतमा सिल्भर तथा स्टिलको बाल्टी, बाटाहरुको प्रयोग गरिने भएको छ।

यसका साथै युनिट परिसरमा भएका खाली जग्गाको उपयुक्त स्थानहरुमा मौसम र भुगोल सुहाउँदो अन्नबाली, तरकारी तथा फलफूल खेती, प्रयोगमा नआएको कुनै पनि जमिन बाँझो नराख्ने र वातावरण संरक्षण सम्बन्धी भएका कार्यहरुको स्तर सम्बन्धमा केन्द्रबाट निरीक्षण समेत गरिने भएको सशस्त्र प्रहरीका सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापा बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .