ad ad

समाज


जापानको आम्दानी, बाख्रामा लगानी

जापानको आम्दानी, बाख्रामा लगानी

रासस
असार ३०, २०८० शनिबार १०:१२, गलकोट

बागलुङको गलकोटका युवा अधिकांश जापान जाने गर्छन्। त्यसैले यो ठाउँलाई पछिल्लो समय जापाने गाउँ समेत भन्ने गरिन्छ। 

तर ११ वर्षअघि ‘भिषा’मा जापान पुगेका गलकोट–५ का ३४ वर्षीय रमेश बस्नेत तीन वर्षअघि कोराना कहरको समयमा नेपाल आए, अब पुनः जापान फर्कन चाहन्नन्।

उनी अहिले बाख्रापालनमा व्यस्त छन्। आत्मनिर्भर हुन कोरोनाले पाठ सिकाएको उनी बताउँछन्। ९ नम्बर वडा गल्याङमा आधुनिक बाख्रा फर्म निर्माण गरेर बाख्रापालन गर्दै आएका छन् उनी। 

झण्डै तीन रोपनी जग्गामा समुन्नत एग्रो फर्म स्थापना गरी बाख्रापालन गरिरहेका उनले आधुनिक प्रविधिको प्रयोग गरेर वैज्ञानिक प्रकारको खोर पनि निर्माण गरेका छन्। विदेशबाट घाँस आयात गर्छन्।

उनको बाख्रापालनमा झण्डै रु ४० लाख लगानी भइसकेको छ। 'वैदेशिक रोजगारीका लागि आठ वर्ष जापान बसे, विद्यार्थी भिषामा जापान पुगियो, कोरोना कहरको समयमा नेपालमा आएको थिए, फर्कन मन लागेन,' बस्नेतले भने, 'जापानमा दुःख गरेको कमाइलाई व्यावसायिक काममा लगानी गर्ने सोच आयो, बाख्रापालनमा आफ्नो भविष्य देखेँ, अहिले सम्मुनत एग्रो फर्ममा ७० वटा बाख्रा, बोका र पाठापाठी रहेका छन्।'

अहिले बाख्राका पाठा–पाठी हुर्काउन आवश्यक दूधका लागि दुई वटा गाई पनि पालेका छन् उनले। उनी भन्छन्, 'पहिलो वर्ष फर्म स्थापना गरियो, दोस्रो वर्ष जन्मेका सबै पाठा तथा पाठी हुर्काइयो, तेस्रो वर्ष मात्रै ५० वटा बोका बिक्री गर्न सफल भइयो।' सरदरमा हाल सम्म १२ देखि १५ लाख आम्दानी भए पनि उक्त आम्दानी उनले गरेका छन्। तर त्यो पैसा फर्म विस्तारमै खर्च गरिएको उनको भनाइ छ। 

अहिले सम्मुनत एग्रो फर्ममा बोयर जातका बोका तथा बाख्रा हुर्किरहेका छन्। बाख्रा फर्ममा उन्नत जातको उत्पादित घाँस बढी प्रयोग गर्दा नाफा गर्न सकिने उनको भनाइ छ। फर्ममा उत्पादित खासी बोका नजिकैको हटिया बजारमा खपत हुँदै आएको बस्नेतको भनाइ छ। 

फर्ममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत बाख्रा ब्लक कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा एक लाख अनुदानमा ट्रस्ट निर्माण गरेको उनको भनाइ छ। 

बाख्रापालनबाट भइरहेको आम्दानी फर्म विस्तारमै लगानी भइरहेको भन्दै बस्नेतले फर्मलाई पूर्ण क्षमतामा २०० बाख्रा पाल्ने तयारी गरेका छन्। स्थानीय पालिका गलकोट नगरपालिकाले फर्म सञ्चालनका लागि प्राविधिक सहयोग गर्दै आएको बाख्रापालन किसान बस्नेतको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .