ad ad

समाज


भारतकाे उत्तराखण्डमा पहिराेले पुर्दा १० नेपालीसहित १९ जना बेपत्ता

तीनजनाको शव मन्दाकिनी किनारबाट निकालियो
भारतकाे उत्तराखण्डमा पहिराेले पुर्दा १० नेपालीसहित १९ जना बेपत्ता

पहिरोस्थल र मन्दाकिनी नदी। तस्बिर : दैनिक जागरण


नेपालखबर
साउन १९, २०८० शुक्रबार १५:३, काठमाडौँ

भारतको उत्तरखाण्ड राज्यमा पहिरोले एउटा होटल पुर्दा १० जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्। 

हिन्दूहरुको चर्चित धाम केदारनाथ प्रवेश गर्ने सडकखण्डको रूद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्ला कम्तीमा १० जना नेपालीसहित १९ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको छ।

बेपत्ता हुने नेपालीहरुमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको उत्तराखण्ड प्रहरीले जनाएको छ। 

पहिरोमा पुरिएको उक्त होटल हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा चलाउँदै आएका थिए। पहिरोमा पुरिएकामध्ये तीनजनाको शव प्रहरीले मन्दाकिनी नदीको किनारबाट निकालेको छ।

वीरबहादुरको होटलमा खाना खान गएका बेला पहिरोले बगाएको हो। पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन्। 

प्रहरीले उनीहरूको थर खुलाएकोको छैन। वीरबहादुरकै होटलमा खाना खाइरहेका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन्।

बेपत्ता हुने थप सातजना पनि नेपाली रहेको जनाइएको छ। तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुल्न सकेको छैन।

बेपत्ता हुनेहरुमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीहरु राधिका र पिंकी छन्।

पहिरोले होटललाई सोहोरेर मन्दाकिनी नदीमा पुर्‍याएको थियो। बेपत्ता भएकाहरुको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ।

अहिले यो क्षेत्रमा भारी वर्षा भइरहेको छ। त्यहीकारण स्थानीय प्रहरीलाई उद्धार तथा खोजी तीव्र बनाउन मुस्किल भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .