ad ad

समाज


सर्लाहीमा दलितलाई जातीय विभेद र कुटपिट गरेको आरोपमा वडाध्यक्षविरुद्ध जाहेरी

सर्लाहीमा दलितलाई जातीय विभेद र कुटपिट गरेको आरोपमा वडाध्यक्षविरुद्ध जाहेरी

जातीय भेदभाव तथा छुवाछूत कसुरमा जाहेरी दिन इलाका प्रहरी कार्यालय पुगेको दलित अधिकारकर्मीसहित पीडितको टोली।


नेपालखबर
साउन २३, २०८० मंगलबार १६:२७, काठमाडौँ

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष श्याम थापासहित स्थानीय तीन व्यक्तिविरुद्ध जातीय विभेद र छुवाछूतको आरोपमा प्रहरी कार्यालयमा जाहेरी परेको छ। 

स्थानीय ६५ वर्षीय जनकबहादुर विक, ४५ वर्षीया सुमित्रा विक र २३ वर्षीय रवि विकले जातीय भेदभाव र छुवाछूत कसुरअन्तर्गत वडाध्यक्ष ६५ वर्षीय श्याम थापा, उनका छोरा ३२ वर्षीय हिमाल थापा र स्थानीय ३८ वर्षीय राजेन्द्र खड्काविरुद्ध  आज (मंगलबार) इलाका प्रहरी कार्यालय (केशरगन्ज) मा संयुक्त रूपमा जाहेरी दिएका हुन्। 

जाहेरीअनुसार घटना गत असार १७ गतेको हो। त्यस दिन साँझ वडाध्यक्ष श्याम थापाका छोरा हिमालले रक्सीले मातेर घरमै आई स्थानीय वृद्ध जनक विकलाई एक्कासि जातीय रूपमा होच्याउने गाली गर्दै कुटपिट गरे। त्यस क्रममा घटनास्थल पुगेका जनकका भतिज रवि र भाइबुहारी सुमित्रालाई समेत हिमाललगायत उनले बोलाएका गैरदलित समुदायका व्यक्तिहरूले लछारपछार पार्दै कुटेको आरोप जाहेरीमा लगाइएको छ। 

जाहेरीमा अगाडि लेखिएको छ, ‘...झडपमा रमा खड्का तथा रेखा खड्काले यी चौरीका कमिनी, डंकिनी, डुम्नीहरू धेरै चढिएका छन्, ठीक लगाउनुपर्छ भन्दै आक्रमण गरेको र पछि झडप साम्य गर्न लाग्दा राजेन्द्र खड्काले निवेदक सुमित्रा विकलाई टिपेर पछारेको र ऐ ऐ बस्ने अनिता कार्कीसमेतले लाठी प्रहार गरी हामी जाहेरवालातर्फको सुमित्रा विश्वकर्मासहित चार/पाँच जना सख्त घाइते हुनुभयो...।’

यसपछि इलाका प्रहरी कार्यालयमा दुवै पक्षलाई राखेर गरिएको छलफलमा पनि वडाध्यक्षका छोरा हिमाल थापाले गल्ती महसुस गर्नुको साटो प्रहरीकै सामुन्ने जातीय अपमानजनक शब्द प्रयोग गरी उल्टै धम्क्याउँदै छलफलस्थलबाट हिँडेको आरोप पीडित दलितहरूले लगाएका छन्। 

जाहेरीमा भनिएको छ, ‘...प्रहरी कर्मचारीहरूको सामुन्ने नै निज हिमाल थापाले पुनः जातीय विभेद हुनेगरी ‘यी दमाई कामीहरूलाई त जुत्ताको तल धुलो बनाएर राख्नुपर्छ, अब यिनीहरूलाई कसरी ठीक लगाउने हो, मैले जानेको छु’ भन्दै वडाध्यक्षको छोरा हुँ भन्ने पदीय र जातीय दम्भ देखाउँदै आफूले गरेको गल्तीको कुनै किसिमको क्षमायाचना नै नगरी छलफलको कुनै टुंगोमा नै नपुगी छलफल स्थलबाट हिँड्नुभयो...।’

साथै सो घटनाको निहुँमा वडाध्यक्ष श्याम थापा स्वयंले पनि स्थानीय फुटबल मैदानमा फुटबल खेल्न पुगेका दलित समुदायका बालबालिकाको कलिलो मानसिकतामा असर पर्ने गरी जातीय गालीगलोज गरेको र धम्क्याएको जाहेरीमा उल्लेख गरिएको छ। 

‘वडाध्यक्ष श्याम थापाले पनि स्थानीय फुटबल ग्राउन्डमा हामी दलित समुदायका कलिला बालबालिकाहरू फुटबल खेल्न जाँदा बालमनस्थितिमा मानसिक असर पर्नेगरी यी साले कामीको छाउराहरूलाई फुटबल खेल्न नदेऊ, यिनीहरूलाई यहाँबाट लेखेटिहाल भन्दै गालीगलोज गर्नुभयो। यसरी वडाध्यक्षजस्तो सार्वजनिक पद धारण गरेको व्यक्ति श्याम थापा र निजकै आडभरोसामा निजका छोरा हिमाल थापासमेतले जातीय अपमानजनक शब्दहरू प्रयोग गरी हामी दलित समुदायका व्यक्तिहरूलाई कुटपिटसमेत गरेको अवस्था छ’, जाहेरीमा लेखिएको छ, ‘अतः निज विपक्षीहरूले हामी दलित समुदायको व्यक्तिहरूलाई अपमानजनक शब्दहरू प्रयोग गरी कुटपिट गर्नेजस्तो निकृष्ट व्यवहारसमेत गर्नुभएकोले हाम्रो मानव मर्यादामा आघात परेको महसुस गरी यो जातीय भेदभाव र छुवाछूतअन्तर्गतको कसुरमा जाहेरी दिन आएका छौँ।’

मीन रहपाल, पञ्चदेव खङलगायत दलित अधिकारकर्मीहरूको सहयोगमा पीडितहरू जाहेरी दिन मंगलबार इलाका प्रहरी कार्यालय (केशरगन्ज) पुगेका थिए। 

‘उहाँहरूलाई निकै अन्याय भएको छ, त्यसमा पनि वडाध्यक्षजस्तो जिम्मेवार व्यक्तिकै आडमा जातीय विभेद र कुटपिटसमेत गरिएको छ’, दलित अधिकारकर्मी रहपालले नेपालखबरसँग फोनमा भने, ‘जाहेरी दिएका छौँ, न्याय पाउने आशामा छौँ।’

जातीय भेदभाव र छुवाछूतको व्यवहार गरेमा जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) (पहिलो संशोधन) ऐन २०७५ अनुसार तीन महिनादेखि ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।  सार्वजनिक पद धारण गरेका व्यक्तिले सो कसुर गरेमा निजलाई उल्लिखित सजायमा ५० प्रतिशत थप सजाय हुनेछ।

यसो भन्छन् आरोपित वडाध्यक्ष
पीडित दलितहरूले प्रहरीमा दिएको जाहेरी प्राप्त भएपछि नेपालखबरले जिज्ञासा राख्दा वडाध्यक्ष श्याम थापाले आरोप अस्वीकार गर्दै बरु आफूहरूविरुद्ध निवेदकहरूले उल्टै अन्याय गरेको दाबी गरे। 

उनले भने, ‘यता सुन्नु न भाइ! जातीय भेदभाव भनेर हाले हुन्छ, उनीहरूले चैँ बरु हाम्लाई जहिले जातीय भेदभाव गरेर पिट्न आउने, कुट्न आउने, मान्छेलाई बस्नै नहुने, हिँड्नै नहुने गरेर हिँड्या छ, जे जे लेखे पनि हुन्छ भाइ, म केही भन्न सक्दिनँ।’  

उनले आक्रोश व्यक्त गरे पनि आरोपको खासै खण्डन गर्न भने सकेनन्। 

तपाईंको छोरा (हिमाल थापा) ले कुटपिट गरेको हो कि होइन? 

नेपालखबरको प्रश्नमा उनले भने, ‘के कुटपिट गर्नु, छुन पनि नहुने रहेछ!’

हेर्नुहोस् दर्ता नम्बर र जाहेरी-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .