ad ad

समाज


जलविरे झरनाबाट गाउँपालिकालाई २८ लाख आम्दानी

जलविरे झरनाबाट गाउँपालिकालाई २८ लाख आम्दानी

नेपालखबर
भदौ ३, २०८० आइतबार १०:१६, चितवन

चितवनको जलविरे झरना (लामो झरना) बाट इच्छाकामना गाउँपालिकाले २८ लाख रुपैयाँ आम्दानी गरेको छ। 

जलविरे झरना चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो। 

इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ। यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गर्छन्। 

पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढेको सो झरना पछिल्लो समय गाउँपालिकाको चिनारीसमेत बन्दै गइरहेको छ।

झरना गाउँपालिकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ। झरना देखाएर गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा २८ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ। 

यहाँ प्रवेश गर्ने पर्यटकबाट ५० रुपैयाँ शुल्क लिने गरिएको छ। स्थानीय र विद्यार्थीलाई २० लिने गरेको गाउँपालिकाले जनाएको छ।
 
यहाँ झरनासँगै अन्य पर्यटकीय गतिविधि पनि हुने गरेका छन्। 

क्यानोनिङ (छाँगावरोहण) र क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र बाहिरी देशका समेत पर्यटक यहाँ आउने गरेका छन् । विदेशीका लागि क्यानोनिङ प्रतिव्यक्ति पाँच सय, वनभोजको  एक हजारदेखि तीन हजारसम्म र फिल्म सुटिङको तीन हजारदेखि पाँच हजारसम्म लिने गरिएको छ।

जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले प्राकृतिक सुन्दरता र चिसो एवं शान्त वातावरणका कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको बताए। 

जलविरे झरनामा दैनिक एक सयदेखि डेढ सयसम्म पर्यटक पुग्ने गरेका छन्। ‘नयाँ वर्षका दिन पन्ध्र सय जना आएको तथ्याङ्क छ’, उनले भने, ‘जाडोको समयमा पनि विभिन्न जिल्लाबाट भ्रमण टोली आउने गरेका छन्।’

यस वर्ष झन् धेरै पर्यटक जलविरे झरनामा घुम्न आउने अनुमान गरिएको छ।  विकास समितिले झरना र यहाँ भइरहेका विकास निर्माणको रेखदेख, पर्यटकका समस्या समाधान र गुनासो सुन्ने कामसमेत गरिरहेको छ।
 
पर्यटक यहाँ स्वतःस्फूर्तरूपमा आउँछन् । भारतबाट समेत आनन्द लिन यहाँ पर्यटक आउने गरेका छन् । जुनसुकै समयमा पुग्ने पर्यटक सो झरना हेरेपछि मन्त्रमुग्ध हुन्छन् । झरनामाथि रहेको गाउँ याकराङमा होमस्टे (घरबास)को समेत व्यवस्था रहेको समितिका अध्यक्ष गुरुङले बताए।
 
नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको एक सय दुई मिटर लामो झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ। 

सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ । झरना अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौँ, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सालगायतका जिल्लाबाट पर्यटक आउँछन्।

नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गर्ने लामो दूरीका सवारीसाधन पनि यहाँ रोकिएर झरना अवलोकन गर्न पुग्ने गर्छन् । विसं २०६९ देखि पर्यटन विकास सुरु भएको यहाँ पछिल्लो समय पूर्वाधार निर्माणले पनि फड्को मारेको छ।

झरना पुग्ने सडक निर्माणसँगै शौचालय, गोलघर, चेन्जिङ रुम र तलाउ निर्माण गरिएको छ । अन्य भौतिक संरचना र झरनाको सौन्दर्यकरणका काम भइरहेका छन् । यस्तै प्रदेश सरकारको सहयोगमा सिँढी, रेलिङ र पौडीपोखरी निर्माण गरिएको छ। य

स वर्ष झरनाको विकासका लागि ३५ लाख बजेट विनियोजन भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। ‘झरनाको प्राकृतिकस्वरुप नबिग्रने गरी जिपलाइन अथवा साइक्लिङ निर्माणको तयारी गरेका छौँ’, गुरुङले भने, ‘पर्यटकीय गतिविधि बढाउने अन्य संरचना पनि निर्माण गर्ने योजनामा छौँ।’

गाउँपालिकाले झरनाको सरसफाइमा विशेष ध्यान दिने जनाएको छ। ‘सरसफाइका लागि कर्मचारीको व्यवस्था गरेका छौँ, झरनासम्म खानेपानी र विद्युत्को समेत व्यवस्था गर्दैछौँ,’ अध्यक्ष गुरुङले भने। 

झरना नजिकै तीनवटा सटर निर्माण गरिएको छ। जसको कारण त्यहाँ जाने पर्यटकले खाजा खानका लागि सहज हुनेछ। झरनाबाट गाउँपालिकाले आम्दानीभन्दा पनि प्राकृतिक स्रोतको संरक्षण र त्यसको व्यवस्थापनमा जोड दिने उद्देश्य राखिएको छ। 

झरना क्षेत्रमा कोसेली घरसमेत निर्माणको तयारी छ।

‘इच्छाकामनामा उत्पादन भएका वस्तु कोसेली घरमा राखिने छ। यहाँ आउने पर्यटकले स्थानीय उत्पादन घर लैजान पाउनुहुनेछ’, उनले भने। यहाँ झरनाकै कारण होटल बढेका छन् भने व्यवसाय पनि बढेको अध्यक्ष गुरुङले बताए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .