ad ad

समाज


सीआईबी प्रमुखसहित तीन एआईजी हेरफेर ६० किलो सुनको अनुसन्धान सकेपछि

सीआईबी प्रमुखसहित तीन एआईजी हेरफेर ६० किलो सुनको अनुसन्धान सकेपछि

नेपाल प्रहरीका तीन एआईजी सुदीप गिरी, किरण बज्राचार्य र टेकबहादुर तामाङ


नेपालखबर
भदौ ३, २०८० आइतबार १८:४६, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखसहित ३ अतिरिक्त महानिरीक्षक (आईजी)को सरुवा तत्काल नहुने भएको छ। 

नेपाल प्रहरीमा प्राविधिकबाहेक ८ जना एआईजी छन्। तीमध्ये ५ एआईजीको सरुवा साउन ३० गतेको मन्त्रिपरिषद् बैठकले गरिसकेको छ। 

तर अरु तीन एआईजीको सरुवा गरिएको छैन। ठूलो मुद्दाको अनुसन्धान गरिरहेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको तत्काल सरुवा नगर्न पनि बाँकी दुई एआईजीको सरुवा रोकिएको हो। 

सरकारले किरण बज्राचार्यलाई ललिता निवासको सरकारी जग्गा र साउन ३ गते बरामद ६० किलो सुन प्रकरणको मुद्दाको अनुसन्धान टुंगिएपछि मात्रै सरुवा गर्ने भएको छ। 

सुरुमा राजस्वले अनुसन्धान विभागले अनुसन्धान गरिरहेको यो मुद्दा १७ दिनपछि  सीआईबीको जिम्मामा आएको थियो।

उक्त पप्रकरणमा १७ जनालाई पनि राजस्वले नै पक्राउ गरेर बुझाएको थियो। तर, बाँकी ६ चिनियाँलाई सीआईबीले पक्राउ गरेर अनुसन्धाान गरिरहेको छ। 

विभागले सुरुमा राजस्व छलीमा अनुसन्धान अगाडि बढाएको थियो। तर, अब सीआईबीले मात्रै मुद्दा दायर गर्ने छ। 

यो प्रकरणमा अब राजस्वबाट मुद्दा दर्ता हुने छैन। राजस्वले पक्राउ गरेकै मितिबाट सीआईबीले बढीमा ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। 

अब बढीमा २० दिनमा सीआईबीले सुन प्रकरणको मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसक्ने छ। सीआईबीले संगठित अपराध र अवैध चोरी पैठारीमा मुद्दा अगाडि बढाएको छ। 

यो मुद्दाको अनुसन्धान सकिएपछि मात्रै सीआईबी प्रमुख बज्राचार्यको सरुवा गर्ने तयारी सरकारको छ। 

बालुवाटार जग्गा प्रकरणमा त्यसअघि नै अनुसन्धान प्रतिवेदन बुझाउने सीआईबीको तयारी छ। ढिलोमा सोमबारसम्म प्रतिवेदन बुझाउने तयारी भएको छ। 

यी दुई ठूला मुद्दाको अनुसन्धान गर्दै गर्दा सरुवा गरिए अनुसन्धानमा असर परेर गलत सन्देश जाने भएकाले सीआईबी प्रमुखको सरुवा रोकिएको हो। 

सरकारले हाल प्रदेश समन्वय विभागमा कार्यरत एआईजी सुदीप गिरीलाई सीआईबीमा सरुवा गर्ने तयारी गरेको छ। 

प्रदेश समन्वय विभागमा टेकबहादुर तामाङलाई सरुवा गरिने छ। सीआईबीबाट सरुवा भएपछि किरण बज्राचार्यलाई अपराध अनुसन्धान विभागको जिम्मेवारी दिने सरकारको तयारी छ। 

उनीहरुसँगै एआईजी भएका अन्य भने सरुवा भइसकेका छन्।

यसअघि टेकप्रसाद राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट मानवश्रोत विकास विभाग, दीपक थापालाई प्रशासन विभागबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, श्यामलाल ज्ञवालीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट कार्यविभागमा सरुवा गरिएको छ। 

यस्तै सन्दीप भण्डारीलाई मानवश्रोत विकास विभागबाट राष्ट्रिय प्रहरी प्रतिष्ठान र मिरा चौधरीलाई कार्य विभागबाट प्रशासन विभागमा सरुवा गरिएको छ। 

यीमध्ये ४ एआईजी चैत १५ गते पदस्थापन भएका हुन्। अरु चारजना मिरा चौधरी, सन्दीप भण्डारी, सुदीप गिरी र टेकबहादुर तामाङ एकसातापछि पदस्थापन भएका थिए। पदस्थापन भएको ५ महिना नपुग्दै सरकारले एआईजी हेरफेर गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .