ad ad

समाज


दुई वर्षदेखि अस्थायी टहरामा १८ परिवार, भन्छन्– यो बर्खा कसरी काट्ने होला

दुई वर्षदेखि अस्थायी टहरामा १८ परिवार, भन्छन्– यो बर्खा कसरी काट्ने होला

रासस
भदौ ६, २०८० बुधबार ११:३४, नवलपरासी (बर्दघाट सुस्तापूर्व)

नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित हुप्सेकोट गाउँपालिका–५ बागखोरकी २८ वर्षीया दिलमाया सोमै मगर झरी परेको दिन निदाउन सक्दिनन्। दुई वर्षअघि पहिरोसँगै आफू बस्ने गाउँ नै भासिएपछि उनीसहित १८ परिवार पूर्ण रूपमा विस्थापित भएको त्रासदीपूर्ण दिनको सम्झना अझै बल्झिरहेको छ। पहिरोपछि गाउँपालिकाले उद्धार गरेर विस्थापितलाई सुरक्षित स्थानमा राख्यो। तर अस्थायी शिविरमा आएपछि सुत्केरी भएकी दिलमायालाई आजभोलि तिनै विपद्का दिनसँगै सन्तान हुर्काउने चिन्ताले सताउने गरेको छ। 

‘विस्थापित भएको दुई वर्ष भइसक्यो, दैनिकी कष्टपूर्ण बनेको छ’, उनले भनिन्, ‘यहीँ आएर सुत्केरी भएँ, बच्चा पनि यहीँको भुइँमा हुर्किएर दुई वर्षको भइसक्यो। तर हाम्रो स्थायी बासको टुङ्गो लाग्न सकेन।’ 

सोही स्थानका खेमबहादुर सोमै मगरले १३ रोपनी जग्गासहितको घर, खेतबारी अनि घाँसदाउरा गरेका दिन सम्झना आइरहने बताए। ‘एकै रातको पानीले जमिन भासिने र पहिरो जाने भएपछि गाउँपालिकाले उद्धार गर्दा ज्यान त बाँच्यो अब कसरी बाँच्ने भन्ने चिन्ता छ’, उनले भने। 

प्राकृतिक विपत्तिले निम्त्याउने विविध समस्याको उच्च जोखिममा पर्ने हुँदा पहाडी र नदीतटीय क्षेत्रका बासिन्दालाई वर्षाको समयमा धेरै चिन्ताले सताउने गर्दछ। दुई वर्षदेखि अस्थायी टहरामा बसिरहेका हुप्सेकोटका पहिरो प्रभावित भने सरकारले दिगो व्यवस्थापन गरिदिने प्रतीक्षामा छन्। 

विसं २०७८ असार २४ गते पहिरोले विस्थापित घरपरिवारको यत्तिका समयसम्म पनि स्थायी बसोबासको टुङ्गो लाग्न सकेको छैन। पहिराका कारण पूर्णरूपमा विस्थापित भएपछि विद्यालय र सामुदायिक भवन हुँदै अहिले दुई कठ्ठाको सानो चौरभित्र १८ घरका बासिन्दा अटाइनअटाइ बसेका छन्। एकातिर दुर्गन्ध, अर्कातिर गाउँबासको चिन्ता, बालबालिकालाई हावापानी र सर्पको टोकाइबाट जोगाउनु चुनौतीमाथि चुनौतीको चाङ थोपरिएको यहाँका बासिन्दा वर्षात् र झरीमा झन् आत्तिने गरेका छन्। 

अहिले उनीहरू हुप्सेकोट–१ जुकेपानीको एउटा सानो चौरमा बस्छन्। हुप्सेकोटले निर्माण गरिदिएको अस्थायी घरमा उनीहरू आश्रय लिइरहेका छन्। विस्थापित १८ घरपरिवारको दिनचर्या अहिले ज्याला मजदुरी गरेर बितेको छ। ब्लक र टिन लगाइएको एक–एक कोठा र एउटा टेन्ट उनीहरूको बास काट्ने थलो भएको छ। बिहान–बेलुकाको छाक ज्याला मजदुरीकै भरमा काटे पनि यो बर्खा कसरी काट्ने चिन्ता उनीहरूमा छाएको छ। गत वर्ष पनि टेन्टकै भरमा खाली चौरमा जाडो काटेका उनीहरूलाई अहिले पनि टेन्ट सानो टहरो र खाली चौरमै काट्नुपर्ने बाध्यता छ। 

यो झरीमा खासगरी सुत्केरी महिला र ज्येष्ठ नागरिकको हेरचाहमा समस्या हुने गरेको तिलबहादुर सोमै मगरले बताए। ‘सानो एउटा कोठाभित्र आठदेखि १०–१२ जनाको परिवार बस्नुपर्ने बाध्यताले अहिले पिरोलिरहेको छ’, उनले भने, ‘पहिरोपीडितको एउटै चाहना छ– कुनै एक ठाउँमा लगेर स्थायी बसोबासको व्यवस्था मिलाइदिए हुन्थ्यो।’

उनीहरु बसिरहेको गाउँमा प्रतिघर एकदेखि तीन बिघा जमिन थियो। अहिले ती जमिनमात्र खोसिएन, बस्ने बास पनि खोसिएको छ। अरुको जग्गामा शरण लिएर बस्नुपरेको छ। पहिरोपीडितको एउटै स्वर छ– पहिराले विस्थापित भएपछि पुनः गाउँ फर्किएर जान सक्ने अवस्था छैन। विस्थापतिलाई अहिलेसम्म गाउँपालिकाले व्यवस्थापन गरिरहेको छ। तर स्थायी व्यवस्थापनका लागि सङ्घीय र प्रदेश सरकारले पहल गर्नुपर्ने हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .