ad ad

समाज


त्रिशूलीमा बस खस्दा कम्तीमा ८ जनाको मृत्यु

त्रिशूलीमा बस खस्दा कम्तीमा ८ जनाको मृत्यु

दुर्घटनामा परेको बसबाट उद्धार गरिँदै


नेपालखबर
भदौ ६, २०८० बुधबार १२:३५, काठमाडौँ

धादिङको गजुरीमा भएको बस दुर्घटनामा कम्तिमा पनि ८ जनाको मृत्यु भएको छ। 

प्रहरीले उद्धार गरेकामध्ये ८ जनाको मृत्यु भएको छ भने १७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक दीपक न्यौपानेले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ। 

‘मृत्यु भएकामध्ये दुई जनालाई हामीले त्रिशूलीमा डुबेको बसमुनीबाट निकालेका हौँ,’ न्यौपानेले नेपालखबरसँग भने, ‘हामी अहिले पनि उद्धारमै छौँ।’

काठमाडौंबाट पोखरा हुँदै बेनी, बागलुङ तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान करिब ११ बजे त्रिशूली नदीमा खसेको हो। 

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी मदनबहादुर कुँवरका अनुसार केहीबेर अघि गम्भीर अवस्थाका १३ जना घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। ४ जना घाइतेको स्थानीय अस्पतालमै उपचार भइरहेको कुँवरले जानकारी दिए।  

‘बसमा २५ देखि ३० जनासम्म सवार रहेको अनुमान गरिएको छ,’ डीएसपी कुँवरले नेपालखबरसँग भने, ‘हामी सबै विवरण लिने प्रयास गरिरहेका छौँ।’

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, स्थित चालिसेबाट बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको हो।  

प्रहरी निरीक्षक न्यौपानेले मृतकको संख्या बढ्न सक्ने बताए। ‘बसमा कति यात्रु सवार थिए, खुलेको छैन,’ उनले भने, ‘हामी सम्पूर्ण विवरण संकलन गरिरहेका छौँ।’ 

उनले दुर्घटनाका मृतक र घाइतेको सबै विवरण आउन समय लागने बताए। ‘बस नदीमा डुबेको छ। कतिपयलाई बाढीले बगाएको पनि हुनसक्छ। कतिपय घाइते आफैँ हिँडेर अस्पताल पनि जानु भएको छ। हामी यो सबै विवरण लिँदै छौँ,’ न्यौपानेले भने। 

दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .