ad ad

समाज


वीरगन्जमा अब ‘मेट्रिक’ प्रणालीका आधारमा घर पहिचान हुने

वीरगन्जमा अब ‘मेट्रिक’ प्रणालीका आधारमा घर पहिचान हुने

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०८० मंगलबार ९:५५, वीरगञ्ज

वीरगन्ज नगरपालिकाले नगरवासीका घर सहजै पहिचान गर्न वैज्ञानिक ठेगाना प्रणाली (जिआइएस बेस्ड हाउस नम्बरिङ) सुरु गरेको छ ।

बढ्दो सहरीकरणसँगै घर सङ्ख्या बढ्दै गएकाले घर पहिचानमा सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले मेट्रिक ठेगाना प्रणालीको थालनी गरेको हो। नगरपालिकालाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने महानगरका प्रमुख राजेशमान सिंहले बताए।

महानगरको आरयुडिपी प्रोजेक्टअन्तर्गत एडिबीको सहयोगमा यो प्रणाली सुरु गर्न लागिएको हो। 

गणकले आवश्यक तथ्याङ्क सङ्कलन गरी त्यसका आधारमा मेट्रिक ठेगाना प्रणाली बनाउनेछन्। वीरगन्ज महानगरपालिका १० आदर्शनगरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंक रहेको भवनमा महानगरप्रमुख सिंहले नम्बरप्लेट टाँस गरी मेट्रिक ठेगाना प्रणाली सुरवात गरेका छन्।
  
आदर्शनगर चोकबाट ठाकुरराम क्याम्पससम्मको सडकलाई पशुपति घोषमार्ग नामकरण गरी दुई सय ३० नम्बरको नम्बरप्लेट टाँस गरिएको छ। 

सडकको चोक तथा मिलनविन्दु (दोबाटो र चौबाटो)देखि कुनै निश्चित घरको दूरी (लम्बाइ)का आधारमा घरको ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली हो। उक्त दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोही आधारमा घर–घरमा नम्बरप्लेट राखिने महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए।

पहिलो चरणमा महानगरको वडा नम्बर १ देखि १६ सम्म जिआइएस बेस्ड हाउस नम्बरिङ गर्नका लागि सर्भे गरी सबै सडकको नामकरण गर्नुका साथै आवश्यक डाटाबेस तयार पारिसकिएको जिआइएस विज्ञ उमेश कुँवरले बताए। 

आवश्यक डाटाबेसका आधारमा सडकको सुरु विन्दुबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ बिजोर नम्बर प्रणालीका आधारमा नम्बरिङ गरिने जानकारी उनले दिए।

पशुपति घोषमार्गमा मंगलबार ५५  घरमा नम्बरिङ गरिएको छ।  १६ वटै वडाको करिब ३३ हजारभन्दा बढी घरमा नम्बरिङ गर्ने गरी तयारी भएको र पहिलो चरणमा कम्तीमा १० हजार घरमा मेट्रिक प्रणालीसहितको नम्बरप्लेट वितरण गर्ने महानगरको लक्ष्य रहेको प्राविधिक सल्लाहकार अमात्यको भनाइ छ। 

यो प्रणालीमा सडक–गल्लीको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले जो–कोहीले खोजेको घर सहजै पत्ता लगाउन सक्ने जिआइएस टेक्निसियनसमेत रहेका सबइन्जिनियर अर्चन आचार्यले बताए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .