ad ad

समाज


हरिवन नगरका प्रमुख प्रशासकीय अधिकृतले बनाए सरकारी गाडीलाई निजी

मेयर कमल बुढाथोकी भन्छन्- केही दिनमै नम्बर प्लेट फेर्छौं
हरिवन नगरका प्रमुख प्रशासकीय अधिकृतले बनाए सरकारी गाडीलाई निजी

नेपालखबर
भदौ २०, २०८० बुधबार १४:५, सर्लाही

सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुरेन्द्र प्रधानले सरकारी (सेतो) नम्बर प्लेटको गाडीलाई निजी (रातो) नम्बर प्लेट राखेर चढ्दै आएको पाइएको छ। 

विगत दुईवर्ष अघिदेखि नै प्रधानले प्रदेश-३-०१-०२७ च ५६१८ नम्बरको सरकारी गाडीलाई रातो नम्बर प्लेट राखेर निजी जस्तो बनाएर चढ्दै आएका हुन्। 

हरिवन नगरपालिकाका यसअघिका मेयर एमाले नेता गणेश प्रसाइँकै पालामा खरिद गरिएको उक्त गाडी अहिलेसम्म पनि रातो नम्बर प्लेटमै चलिरहेको छ। 

हाल हरिवन नगरपालिकाको मेयर माओवादी केन्द्रका कमल बुढाथोकी छन्। बुढाथोकी आफू भने शनिबार र सार्वजनिक बिदाको दिन सरकारी गाडी चढ्दैनन्। 

तर, मेयरमा निर्वाचित भएको डेढ वर्ष बित्न लाग्दासमेत बुढाथोकीले प्रमुख प्रशासकीय अधिकृतले राज्यको ढुकुटीमा गर्दै आएको अनियमिततालाई भने नियमन गरेका छैनन्। जसको उनकै पार्टी माओवादी केन्द्रलेसमेत आलोचना गरेको छ। 

माओवादी केन्द्र हरिवनका अध्यक्ष अर्जुन पन्तले मेयर बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत प्रधानलाई मंगलबार एक पत्र बुझाउँदै प्रधानले चढ्ने गरेको गाडीमा तुरुन्त सेतो नम्बर प्लेट राख्न ध्यानाकर्षण गराएका छन्।

नगरपालिका स्रोतका अनुसार अघिल्ला मेयर गणेश प्रसाइँ र प्रमुख प्रशासकीय अघिकृत प्रधानको आपसी मिलेमतोमा बिदाको दिनमा पनि चढ्ने उद्देश्यले उक्त गाडीमा रातो नम्बर प्लेट राखिएको थियो।

सेतो नम्बर प्लेट राख्दा सार्वजनिक बिदाको दिन चढ्न नपाइने भएपछि गाडीमा रातो नम्बर प्लेट राखिएको हो। 

तर, ०७९ सालको स्थानीय निर्वाचनमा प्रसाइँ हरिवन नगरपालिकाको मेयरमा दोस्रो कार्यकालको लागि विजयी बन्न सकेनन्। त्यसयता यो गाडी प्रमुख प्रशासकीय अधिकृत प्रधानले चढ्दै आएका छन्। 

प्रमुख प्रशासकीय अधिकृतले चढ्दै आएको रातो नम्बर प्लेटको गाडीमा सेतो नम्बर प्लेट राख्न आफूले विगत देखि नै पहल गर्दै आएको दाबी मेयर बुढाथोकीले गरे। 

‘मैले त्यतिबेलैदेखि यो गाडीमा सेतो नम्बर प्लेट राख्न पहल गरेको थिएँ। तर यातायात व्यवस्था कार्यालयको ढिलासुस्तीले त्यो काम अघि बढ्न सकेको थिएन,’ बुढाथोकीले भने, ‘अब यही महिनाभित्रै हामी यो गाडीमा सेतो नम्बर प्लेट राख्ने छौँ।’   

उनले गाडीमा सेतो नम्बर प्लेट राख्नको लागि यातायात व्यवस्था कार्यालयले गर्ने काम सकिएको बताए। ‘अब बैँकमा गर्नुपर्ने प्रक्रिया मात्रै बाँकी छ। छिट्टै हामी त्यो प्रक्रिया पनि पूरा गर्छौं,’ मेयर बुढाथोकीले भने। 

जनस्तरबाट आचोचना हुने डरले गएको चैतदेखि जेठसम्म तीन महिना उक्त गाडी नगरपालिकाको कम्पाउण्डमा त्रिपालले छोपेर राखिएको थियो। तर, गएको असारयता भने प्रमुख प्रशासकीय अधिकृत प्रधानले उक्त गाडीलाई व्यक्तिगत सम्पत्ति जसरी निर्वाध रुपमा प्रयोग गर्दै आएका छन्। 

बिदाको दिन र व्यक्तिगत काम पर्दापनि उनी सोही गाडीमा हुइँकिने गरेका छन्। उनी हप्तैपिच्छे हेटौँडा घर जाँदा पनि सोही गाडी प्रयोग गर्छन्।

‘एमर्जेन्सी’को बेला चढ्ने उद्देश्यले अघिल्लो मेयरकै पालामा सरकारी गाडीमा रातो नम्बर प्लेट राखिएको प्रधानले स्वीकार गरे। 

‘बिगतमा कहिलेकाहिँ अफिसको कामले शुक्रबार काठमाडौं गएर शनिबारै फर्किनु पर्दा सेतो नम्बर प्लेटको गाडीले समस्या भएपछि यो गाडीमा रातो नम्बर प्लेट राखिएको हो,’ उनले बुधबार दिउँसाे नेपालखबरसँग भने, ‘सार्वजनिक बिदाको दिन र शनिबार पनि चढ्न पाइयोस् भनेरै त्यतिबेला यसमा रातो नम्बर प्लेट राखेका थियौँ, अब चाँडै हामी त्यसलाई हटाएर सेतो नम्बर प्लेट राख्ने छौँ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .