ad ad

समाज


सिधाकुरा प्रकरणमा सर्वोच्चको फैसलाप्रति पत्रकार महासंघको ध्यानाकर्षण

सिधाकुरा प्रकरणमा सर्वोच्चको फैसलाप्रति पत्रकार महासंघको ध्यानाकर्षण

नेपालखबर
असोज १४, २०८१ सोमबार १४:२६, काठमाडौँ

सिधाकुरा डटकमको समाचार तथा भिडिओ सामग्रीलाई लिएर सर्वोच्च अदालतले गरेको फैसलामा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। 

महासचिव रोसन पुरीले विज्ञप्ति जनाउँदै सर्वोच्चको फैसलामा ध्यानाकर्षण भएको जनाएका हुन्। 

सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई आइतबार सवोच्चको ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले कारागार चलान गर्ने फैसला गरेको थियो। 

‘समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन/प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको थियो’, महासंघले भनेको छ, ‘स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानुनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्याउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ।’

महासंघले कुनै पनि फैसला संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वातन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध हुन नहुने उल्लेख गरेको छ। 

माफी मागेर गलत सामग्री हटाइसकेको अवस्थामा सर्वोच्च आफैँले प्रतिवेदन उठाई निवेदन दर्ता गरी आफैँले पत्रकारलाई जेल पठाउने फैसला गरेपछि महासंघले चिन्ता र चासो व्यक्त गरेको हो। 

साथै महासंघले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा नेपाल सरकार, न्यायालय र अन्य सम्बन्धित पक्षलाई गम्भीर हुन समेत आग्रह गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .