नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाले काठमाडौंमा संयुक्त अभ्यास गर्ने भएका छन्।
दुई देशका सेनाबीचको संयुक्त अभ्यास तालिम भदौ २४ गतेदेखि असोज १२ गतेसम्म सञ्चालन हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
नियमित रुपमा सञ्चालन हुँदै आएको दुई देशका सेनाबीचको संयुक्त अभ्यासको यो ४० औं संस्करण हो। अभ्यासमा नेपाली सेनाका ३० जना र अमेरिकी सेनाका १२ जना गरी ४२ जना सहभागी हुने छन्।
संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उध्दार, मानवीय सहायता लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ।
नेपाली सेनाले संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशहरुका सैन्य संगठनहरुसँग खोज तथा उध्दार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरु लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागी हुँदै आएको छ।
भदौ २४ गतेदेखि हुने अभ्यासमा सहभागिताका लागि संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्री सहित भोलि बिहीबार काठमाडौं आइपुग्ने भएको छ।
अमेरिकी वायु सेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने र उक्त विमान २२ गते फिर्ता हुने नेपाली सेनाले जानकारी दिएको छ।
यसैबीच, संयुक्त अधिराज्यमा संचालन हुने प्रतिस्पर्धात्मक क्याम्ब्रियन गस्ती अभ्यासमा सहभागी हुन सेनाको टोली बुधबार बेलायततर्फ प्रस्थान गरेको छ।
नेपाली सेनाको १० सदस्यीय टोली प्रमुख सेनानी विवेक विक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको सेनाले जानकारी दिएको छ।
Shares
प्रतिक्रिया