भेपको ९ किलो सुन प्रकरणमा संलग्न रहेका चिनियाँ नागरिकको डेराबाट प्रहरीले लकर बरामद गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फरार चिनियाँ नागरिक दाओजिन वाङको डेरामा छापा मारेर लकर बरामद गरेको हो।
तर लकरभित्र केही पनि फेला नपरेको सीआईबीका एक अधिकृतले बताए। दाओजिनसहितका चिनियाँ नागरिकले विद्युतीय चुरोटमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सारले बरामद गरेको थियो।
तर बरामद भएको सुन भन्सारकै कर्मचारीले गायब गरेका थिए। यो प्रकरण बाहिर आएर भन्सारका कर्मचारीमाथि अनुसन्धान सुरु भएपछि दाओजिन फरार भएका थिए।
चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ल्याएको ९ किलो ११।५२४ ग्राम सुन भन्सार कार्यालयले गत पुसमा समातेको थियो।
तस्करहरूले भन्सारका कर्मचारीको मिलेमतोमा इलेक्ट्रिक सिगरेटभित्र लुकाएर ल्याएको सुन चोरेर सो स्थानमा इलेक्ट्रिक सिगरेट नै राखिदिएका थिए।
भन्सारले सुरुमा पक्राउ गरेपछि चिनियाँ नागरिकले सिगरेट नै भएको दाबी गर्दै छुटाउन विभिन्न व्यक्तिको दबाब लगाएका थिए।
अहिले यो मुद्दामा कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरिरहेको छ। महरा बाबुछोराले नै भन्सारमा सामान पक्राउ परेपछि छुटाउन टेलिफोन गरेका थिए।
चिनियाँ तस्करले ल्याएको सुन चोर्ने भन्सारका कर्मचारीसहित ५ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिइसकेको छ।
भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षागार्ड निर्मलकुमार विक र व्यापारीहरु वेदप्रकाश अग्रवाल र साहेब राय पाण्डुरङ पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु आगमन शाखाले २०७९ पुस २९ गते २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेटभित्र शंकास्पद बस्तु रहेको आशंकामा बरामद गरेको थियो। तर पछि ती सामान इलेक्ट्रिक सिगरेट नै भएको पाइएपछि विमानस्थलले साटिएको आशंकामा छानबिन गरेको थियो।
आन्तरिक छानबिन गर्दा मुद्दा शाखामा गोदामको कार्य जिम्मेवारी तोकिएका नासु रेवन्त खड्कासहितका व्यक्ति संलग्न देखिएपछि कारबाहीको प्रक्रिया अगाडि बढेको थियो। विमानस्थल भन्सार कार्यालयले आन्तरिक छानबिनमा त्रुटि पाइएपछि थप अनुसन्धान गरी कारबाहीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा २०८० वैशाख २६ गते जाहेरी दिएको थियो।
दुई वटा सुटकेसमा सिगरेटभित्र लुकाएर सुन ल्याएको खुलेको छ। तर भन्सारका कर्मचारीसहितको
मिलेमतोमा पछि सिगरेट ल्याएर सुन लगेको खुलेको हो।
उनीहरूले लगेको सुन ६ करोडमा बिक्री गरेर रकम बाँडेर लगेको खुलेको छ। प्रहरी प्रतिवेदनमा भने उक्त सुनको मूल्य ८ करोड ५५ लाख २८ हजार ३७४ रहेको उल्लेख छ।
Shares
प्रतिक्रिया