ad ad

समाज


संविधान दिवस मनाउँदा मण्डनदेउपुर नगरपालिकाका कर्मचारी थाकेपछि...

संविधान दिवस मनाउँदा मण्डनदेउपुर नगरपालिकाका कर्मचारी थाकेपछि...

मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित भवन र थकाइ बिदाकोसूचना


नेपालखबर
असोज ४, २०८० बिहिबार १०:४७, काठमाडौँ


काभ्रेको मण्डनदेउपुर नगरपालिकाले थकाइ मार्न भन्दै आज नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ। 

नगरपालिकाले बुधबार सूचना जारी गर्दै आजको लागि थकाइ मार्न भन्दै नगरपालिकाभर सार्वजनिक बिदा दिएको हो। 

नगरपालिकाको नव निर्मित भवनबाट सेवा प्रवाह भएको खुसीयाली र कार्यालय सार्दा कर्मचारी थाकेपछि बिदा दिइएको नगरपालिकाले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।

‘संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा सो क्रममा विगत तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने कार्यमा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण २०८०-०६-०४ गतेका दिन नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरु, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुलाई बिदा गरिएको छ,’ बुधबार नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

नगरपालिकाले थकाइ मार्न भन्दै बिदा दिएपछि कतिपयले भने ‘स्थानीय तहहरुले मनपरी गर्न थालेको’ भनेर आलोचनासमेत गरेका छन्। संघीय सरकारले हिजो (बुधबार) संविधान दिवसको अवसरमा देशभर सार्वजनि बिदा दिएको थियो। 

त्यसकै भोलिपल्ट मण्डनदेउपुर नगरपालिकाले ‘थकाइ बिदा’ भन्दै नगर क्षेत्रमा बिदा दिएपछि आलोचना भएको हो।

तर, मण्डनदेउपुर नगरपालिकाका उप मेयर विष्णुमणि नेपालले प्रमुख प्रशासकीय अधिकृतले सूचना जारी गर्दा त्रुटि गरेकाले आलोचना खेप्नु परेको बताए। 

‘हामी पुरानो भवनबाट हिजो मात्रै नयाँ भवनमा सरेका छौं। नयाँ ठाउँमा कार्यालय सार्न हामी शनिबारदेखि नै खटिएका थियौँ,’ उनले बिहीबार बिहान नेपालखबरसँग भने, ‘अहिले पनि नयाँ कार्यालयमा व्यवस्थापकीय र प्राविधिक धेरै काम गर्न बाँकी छन्। तिनै काम गर्न आज सार्वजनिक बिदा दिएको हो। तर, नयाँ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतले सूचनामा कर्मचारी थालेपछि बिदा दिइएको भन्ने आसयले लेख्दा समस्या भयो।’

मण्डन देउपुरमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का छन्। तर, नगरपालिकाको लेटरप्याडमा जारी भएको सूचनामा हस्ताक्षर गर्नेको नाम छैन। 

उपप्रमुख नेपालले भने पुराना प्रशासकीय अधिकृत सरुवा भएर अन्यत्र गएपछि नगरपालिकामा नयाँ अधिकृत आएको र उनले सूचना लेख्दा ढंग नपुर्याएको दाबी गरे। उनले सरुवा भएर आएका नयाँ अधिकृतको नाम भने भन्न चाहेनन्। 

मण्डनदेउपुर नगरपालिकाका सूचना अधिकारी कासीनाथ नेपालले भाडाको घरबाट आफ्नै भवनमा कार्यालय सार्दा निकै थाकिएकाले आज थकाइ बिदा दिइएको बताए। 

‘हामीले थाकेरै आजको लागि बिदा दिएका हौँ,’ उनले भने, ‘हामीले पुरानो कार्यालयबाट दुई किमी टाढा रहेको नयाँ भवनमा अफिसका सामानहरु बोकेरै सार्यौं। त्यसको लागि दुई तीन दिन खटिनु पर्यो। हिजो संविधान दिवसको दिन पनि दिनभरी व्यस्त भैयो। त्यहि भएर आज थकाइ मार्न बिदा दिइएको हो।’ 

कार्यालय सार्दा कर्मचारी थालेको बहानामा नगर क्षेत्रका स्कुल, कलेजसहित सबै सरकारी तथा गैर सरकारी कार्यालयमा बिदा दिइनु गलत भएको भन्दै मण्डन देउपुरकै स्थानीयले नगरपालिकाको नेतृत्वको आलोचना गरिरहेका छन्। 

देशका धेरै स्थानीय तहहरुले स्थानीय पर्व, जात्रा, मेला विशेषका दिन सम्बन्धित नगर क्षेत्रमा बिदा दिएका उदाहरण प्रशस्त छन्। तर, कर्मचारी थाकेको बहानामा नगर क्षेत्रभर सार्वजनिक बिदा दिने मण्डनदेउपुर पहिलो स्थानीय तह बनेको छ। 

मण्डनदेउपुर नगरपालिकाले संविधान दिवस र नयाँ भवनमा कार्यालय सारिएको खुसियालीमा बुधबार नगरमा बाजागाजासहित  र्‍यालीसमेत निकालेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .