एक सातादेखि संघीय राजधानी काठमाडौंमा आन्दोलनरत राहत शिक्षकहरुमाथि बुधबार प्रहरीले हस्तक्षेप गरेको छ।
लगातारको प्रदर्शनका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा दर्जनौँ शिक्षकहरु घाइते भएका छन्।
घाइतेमध्ये धेरैको अवस्था सामान्य भए पनि एकजना शिक्षिकाको खुट्टो भाँचिएको छ।
राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सहअध्यक्ष नवीनसिंह धामीका अनुसार बुधबार भएको आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा पर्साकी शिक्षिका सञ्जिताकुमारी खत्रीको खुट्टो भाँचिएको हो।
खुट्टो भाँचिएपछि अहिले उनको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको धामीले बताएका छन्।
उनको खुट्टो भाँचिएपछि अहिले राहत शिक्षकहरुले सहयोग संकलन थालेका छन्। त्यसैगरी झडपमा पर्वतकी बालविकास शिक्षिका शर्मिला पुरी पनि घाइते भएकी छन्।
दुवैको ट्रमा सेन्टरमा उपचार चलिरहेको छ। उनीहरुको उपचारका लागि स्थायी शिक्षक हकहित मञ्चका अध्यक्ष रमेशबाबु भट्टराईले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
राहत शिक्षकहरुले आफूहरुको आन्दोलनमा भएको प्रहरी दमनको निनदा गरेका छन्।
Shares
प्रतिक्रिया