ad ad

समाज


तपाईंमा यस्ता लक्षण छन्? हुनसक्छ मुटुरोग

तपाईंमा यस्ता लक्षण छन्? हुनसक्छ मुटुरोग

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज १२, २०८० शुक्रबार १४:१, चितवन

खानपान र जीवनशैलीमा ध्यान दिनसके मुटु रोगबाट बच्न सकिने विज्ञ चिकित्सकले बताएका छन्। पछिल्लो समय विलासी जीवनशैलीका कारण मानिसमा मुटुरोगको समस्या बढ्दै गएको छ।
 
चितवनको भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा.मणि गौतम परिवारका सदस्यलाई मुटुसँग सम्बन्धित रोग भए÷नभएको ख्याल गर्नुपर्ने बताउँछन्। उच्च रक्तचाप, मधुमेह, मोटोपना भएका व्यक्तिलाई मुटुरोग हुने जोखिम बढी हुने गौतमले बताए।
 
‘जोखिमका तत्व पहिचान गरेर मुटुरोगबाट सुरक्षित रहन सकिन्छ,’ उनले भने, ‘धूमपान, मद्यपानलगायतका बानी व्यहोरामा सुधार गरे, शारीरिक व्यायाममा ध्यान दिए यो रोगबाट बच्न सकिन्छ।’

मोटोपना घटाउन, तनाव कम गर्न, मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप भएमा त्यसको नियमित औषधि सेवन गरेर व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ।
 
बाथ रोग र जन्मजात रोगहरु छन् भने त्यहीअनुसार व्यवस्थापन गर्नुपर्ने गौतले बताए। ‘समयमा ध्यान दिनसके मुटुरोग लाग्नबाट बच्न सकिन्छ, लागिसकेपछि पनि जोगिन सकिन्छ,’ उनले भने। 
 

चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा.शंकर लौडारी मुटुरोग लाग्नुभन्दा पहिले नै सर्तक हुन सके मुटुरोगबाट बच्न सकिने बताउँछन्। 

‘धूमपान, अत्यधिक मद्यपान, लागूऔषधजस्ता कुलत छन् भने बन्द गर्नुपर्छ,’ उनले भने, ‘यस्ता वस्तुबाट टाढा बस्दा एकदेखि दुई वर्षमा पहिलेकै अवस्थामा फर्कन सकिन्छ, तर रोग धेरै नै बढिसकेको छ भने पूर्ववतः अवस्थामा फर्कन गाह्रो पर्छ।’
 
चिकित्सकको सल्लाहबिना अनावश्यक औषधि धेरै प्रयोग र शारीरिक व्यायामको अभावका कारण मुटु रोग बढ्ने चिकित्सक बताउँछन्। ‘फलफूल, तरकारी, प्रोटिनको मात्रा अलि बढी खाने, कार्बोहाइडे«ट मात्रा कम गर्ने, चिल्लो खानेकुरा कम गर्ने, एन्टिअक्सिडेन्टल चीजहरु धेरै खाने, आवश्यक परेको बेला भिटामिन पनि खान सकिन्छ, यी खानेकुराले मुटुलाई फाइदा गर्छ,’ लौडारीले भने। 
 
मुटुका केही रोगहरु देखियो र शंका लाग्यो भने नजिकको मुटुरोग चिकित्सकलाई देखाउन चिकित्सकको सुझाब छ। बढ्दो उमेर, धूमपानको प्रयोग, अत्यधिकमात्रामा मद्यपान, उच्च रक्तचाप, सुगर, कोलेस्ट्रोरललगायत वायु प्रदूषणलाई पनि मुटुरोगका कारक मानिन्छ।
 
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा. विष्णुमणि धितालले मुटुरोगका सामान्य लक्षण पहिचान गरेर समयमै उपचार गर्न सुझाव दिए। 

धितालका अनुसार छातीको बिच्चको भागमा लामो समयसम्म दुख्ने, केही काम गर्दा, उकालो चढ्दा वा धपेडी भएको बेला छाती गह्रुँगो हुने, केही कुराले थिचेको जस्तो हुने मुटुरोगका लक्षण हुन्।
 
त्यसैगरी पोलिरहेको जस्तो महसुस हुने, त्यो दुखाइ कहिलेकाहीँ दायाँतिर, कहिले बायाँतिर र कहिलेकाहीँ पछाडितिर सर्ने, कहिलेकाहीँ सास फेर्न गाह्रो भएको महसुस हुने पनि मुटुरोगका लक्षण हुन्।
 
चिकित्सकले मुटुरोगको लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श गर्न सुझाव दिएका छन्। केही वर्षअघिसम्म राजधानी केन्द्रित मुटुको उपचार अहिले चितवनसहित मोफसलका जिल्लामा पनि उपलव्ध छ। 

हृदयाघातजस्ता समस्या आउँदा तत्काल उपचारका लागि क्याथल्याबसहितको सुविधा पनि उपलब्ध छ। सहरमा केन्द्रित यो रोग पछिल्ला वर्षमा ग्रामीण क्षेत्रमा समेत पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .