नेपालको थप स्थानबाट मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशको पूरै क्षेत्र, लुम्बिनी प्रदेशका अधिकांश स्थान र गण्डकी प्रदेशको समेत पश्चिमी भागबाट मनसुन हटेको हो।
योसँगै सुदूरपश्चिमदेखि पूर्व गण्डकी प्रदेशको पश्चिमी भागसम्मबाट मनसुन बिदा भएको छ।
महाशाखाले आज दिउँसो २ बजे जारी गरेको विशेष बुलेटिनमा भनिएको छ– ‘यस वर्षको मनसुन आज मिति २०८० असोज २४ गतेका दिन नेपालको कर्णाली प्रदेशको सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको अधिकांश भूभाग तथा गण्डकी प्रदेशको पश्चिम भूभागबाट पनि बाहिरिएको छ।’
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका अधिकांश स्थान र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रबाट भने मनसुन यसअघि नै बाहिरिसकेको थियो।
अब मनसुन गण्डकी प्रदेशको पूर्वी भाग, बागमती, मधेश र कोशी प्रदेशमा मात्र बाँकी छ।
पूर्वबाट प्रवेश गरी देशभर फैलिएको मनसुन पश्चिमबाट क्रमशः हट्दै पूर्वैबाट बाहिरिन्छ।
यस वर्ष मनसुन नेपाल भित्रिँदा पनि सरदर मितिभन्दा एक दिन ढिला अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) भित्रिएको थियो।
मनसुन बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ।
यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ। पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ।
माैसमविद्का अनुसार पोस्ट मनसुन लागेपछि हिमाली भेगमा हिमपात हुन सुरु हुन्छ। तर धेरै हुँदैन। पोस्ट मनसुनलाई पर्यटकीय मौसम पनि भनिन्छ।
डिसेम्बरदेखि विन्टर (हिउँद) सुरु हुने मौसमविद् बताउँछन्।
हेर्नुहोस् मनसुन बाहिरिएको सम्बन्धी विशेष बुलेटिन-
मौसम महाशाखाका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव छ।
महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी प्रदेशका थोरै तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
Shares
प्रतिक्रिया