ad ad

समाज


राहुल महरा पुर्पक्षका लागि कारागार चलान

राहुल महरा पुर्पक्षका लागि कारागार चलान

नेपालखबर
असोज २६, २०८० शुक्रबार १८:२४, काठमाडौँ

भेपको सुन प्रकरणमा माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

सोही प्रकरणमा पक्राउ परेका सुन तस्कर चिनियाँ नागरिकका सवारी चालक लोकेन्द्रकुमार पौडेललाई भने ५ लाख धरौटी माग भएको छ। धरौटी बुझाएमा उनी रिहा हुनेछन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा राहुलविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी अभियोग किटान गरिएको छ।

सोही मुद्दामा सर्लाहीको राजघाट घर भई काठमाडौँको सीतापाइला बस्ने लोकेन्द्रकुमार पौडेल, तिब्बती मूलका बेल्जियन नागरिक दाबा छिरिङ र काठमाडौँकै बौद्ध बस्ने निमा गुरुङलाई पनि अभियुक्त बनाइएको छ। यीमध्ये पौडेललाई राहुलसँगै पक्राउ गरी अदालतमा पेस गरिएको छ। छिरिङ यसअघिकै सुन तस्करीसम्बन्धी मुद्दाको पुर्पक्षका क्रममा थुनामा छन् भने गुरुङ फरार छन्।

गत वर्ष पुस १० गते दुबईबाट आएको जहाजमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको प्रकरणमा राहुल तानिएका हुन्। ८ करोड ५५ लाख २८ हजार रुपैयाँबरारको सुन तस्करीमा उनले सरकारी निकायहरूलाई प्रभावमा पारेको देखिएको छ। उक्त सुन चिनियाँ नागरिकले ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोटमा लुकाएर ल्याएका थिए।

नेपाल आइसकेपछि भन्सारबाट छुटाउन राहुलले भूमिका खेलेका थिए। राहुलसँगै उनका बुवा कृष्णबहादुर महराले पनि धेरैपटक भन्सार अधिकारीहरूलाई फोन गरेको पाइएको थियो। साथै, तस्करीमा मुछिएका चिनियाँहरूसँग पनि उनको घनिष्ठ सम्बन्ध देखिएको थियो।

राहुलले आर्थिक लाभका निम्ति तस्करहरूसँग मिलेमतो गरेको, अपराध गर्न पिरामिड शैलीमा तहगत जिम्मेवारीहरू बाँडफाँट गरेको, भन्सारमार्फत नेपाल सरकारलाई प्राप्त हुने राजस्व नोक्सान हुनेगरी काम गरेको र भन्सारबाट सुन तस्करी गराउन प्रत्यक्ष भूमिका खेलेको प्रहरीको अनुसन्धानले देखाएको छ।

उक्त सुन भन्सारबाट छुटाउन महराका बाबुछोराले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ तथा भन्सारका प्रमुख प्रशासक अरुण पोखरेलले बारम्बार फोन गर्ने, भेट्ने र एमएमएसबाट समेत दबाब दिएको अभियोगपत्रमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .