लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा हरेक दिन केही नयाँ सन्दर्भ र कोणबाट बहस भइरहेको छ। यतिबेला सिंगै विश्वले हिंसाविरुद्धको दिवस मनाइरहँदा नेपाली समाजमा हामी महिला हिंसाविरुद्धको दिवसका रूपमा पनि समाजलाई सचेत बनाएर यथार्थपरक ढंगले हिंसाविरुद्ध लड्न तयार पार्न सकिरहेका छैनौंँ। स्वाभाविक रूपमा हाम्रो समाजले पितृ सत्तात्मक प्रकृतिको विशेषता छाड्न नसकेको हरेक घटना सन्दर्भ र परिवेशमा देख्न र भोग्न परिरहेको छ। महिलाविरुद्धको हिंसामा पनि पीडितका पक्षमा खुलेर बोल्न नसक्ने हाम्रोजस्तो सामाजिक परिवेशमा हिंसा कसरी गुम्सिरहेको छ र कसरी विभिन्न स्वरूपमा विस्फोटन भइरहेको छ भन्ने थुप्रै दृष्टान्तले लैंगिक हिंसाको परिभाषा र निराकरणलाई नै नयाँ ढंगले बुझ्नुपर्ने अनुभूत गराएको छ।
केही समयअघि एकजना साथीले अन्तरंग सम्बन्धमा भोगेका अनुभव बाँड्दै बेग्लै पीडा र वेदना सुनाए। प्रेम, विश्वास र सम्बन्धमा व्यक्त भावलाई स्वाभाविक रूपमा लिने कि हिंसाका रूपमा भन्ने द्विविधाले सिर्जना गरेको उनको अन्तरमनको द्वन्द्वले आफूमा समेत सिर्जना भएको मनोवैज्ञानिक दबाब पनि नयाँ ढंगले यो सन्दर्भलाई हेर्ने एउटा प्रेरणा बन्ने अनुभूति गरेको छ। हामीले हाम्रा निकटस्थका भावना र गतिविधिलाई कसरी हेर्ने? हिंसाको परिभाषाभन्दा पहिले यसमा स्पष्ट हुन जरुरी छ। हामीले स्वीकार गरिरहेका भावना वा गतिविधि कसरी स्वाभाविकबाट हिंसामा परिणत हुन्छन् भन्ने कुरा हामीले लिएको शिक्षा, हामीमा विकास भइरहेका चेतना, हाम्रो सामाजिक परिवेश, हाम्रो साथी-सङ्गत तथा प्रविधि र विकासको गतिले निर्धारण गर्छन्।
लैंगिक हिंसाको व्याख्या गर्नेहरू, विभिन्न विषयमा आफूलाई ज्ञाता वा जानकार ठान्नेहरू र विज्ञहरूकै जीवनमा देखिएका र भोगिएका सन्दर्भलाई पनि हिंसाको कोणबाट हेर्दा केही प्रभाव देखिन्छन्। सामाजिक रूपमा त्यस्ता घटना हेर्दा पितृ सत्तात्मक सोचबाट निर्देशित भन्न सकिन्छ। सँगै काम गरिरहेका सहकर्मीमा पनि महिला साथी आफूसरह हुञ्जेल ठीकै हुने तर आफूभन्दा माथि जाने सम्भावना देख्नासाथ अनेक ईर्ष्या भाव राख्ने र आरोप लगाउने प्रवृत्ति देखिन्छ। यो एक प्रकारको हिंसाको स्वरूप हो। अर्को खतरनाक हिंसाको अवस्था अन्तरंग सम्बन्धमा देखिन्छ। यो विशेषगरी पद, प्रतिष्ठा, पहिचान र पुँजीसँग जोडिएर देखिने गरेको छ।
प्रेममा पनि हिंसाका विभिन्न अवस्था देखिने गरेका छन्। यस्ता खालका हिंसा पुरुष वा महिलाले एउटा निश्चित अवस्थासम्म स्वाभाविक मानेर स्वीकार गर्ने, त्यसपछि एउटा हदसम्म हिंसाका रूपमा अनुभूत गरेर उकुसमुकुस अनुभव गर्ने र त्यो हद नाघेपछि सामाजिक रूपमै विस्फोट हुने गरेको देखिन्छ। यसलाई लभ बम्बिङका रूपमा पनि हेर्न सकिन्छ। यस्ता घटना र सन्दर्भ धेरै आँटिला मानिएकाहरूले पनि व्यक्त गर्न वा उपचारको पहलतर्फ सोच्न पनि नसकेको यथार्थ देखिन्छ। लभ बम्बिङ परिस्थिति र परिवेशअनुसार हिंसात्मक हुँदै समाजिक र भौतिक रूपमै दुर्घटनाका रूपमा समेत पुग्ने गरेको पाइन्छ। अन्तिम परिणाम आइसकेपछि हिंसा देखिए पनि यो प्रकृतिको हिंसाको बीजारोपण सुषुप्त रूपमा, नजानिँदो ढंगले हुने गर्छ। यसलाई हाम्रो व्याख्या/विश्लेषण र परिभाषाको परिधिले भेटिरहेको छैन।
यस्ता प्रकृतिका घटना र सन्दर्भ केहीलाई त पक्कै पनि यहाँहरूले अनुभव गर्नुभएकै होला। तर यसको आकार देखिएभन्दा र स्वाभाविकभन्दा बढी छ। प्रविधिको विकास, सामाजिक परिवेश, सम्बन्धमा अपेक्षा गरिने इमान्दारिता र प्राप्त हुने यथार्थता, त्यसप्रतिको बुझाइमा हुने असमानताले यसलाई बढाइरहेको छ। यो अवस्था गुनासो गर्न पनि नसकिने र त्यसको कतिपय उपाय र उपचार पनि नपाइने खालका अवस्था, आफैँलाई यो हिंसा हो कि स्वाभाविक व्यवहार हो भन्ने अन्योलले गर्दा समाजमा लैंगिक हिंसाको आकार बढाइरहेको छ। पुरुष पनि यस्ता खालका हिंसामा परिरहेका हुन सक्छन्। महिलाहरू त पर्ने गरेका धेरै नै उदाहरण देखिएका छन्।
आफ्नो एउटा अवस्थामा त्यही भावना वा गतिविधि स्वाभाविक लाग्ने र आफ्नो चेतना वा ज्ञान र विकासको अभिवृद्धिसँगै त्यही भावना वा व्यवहारलाई पनि हिंसा मान्ने गरिएको आरोप लाग्ने गरेको छ। यसलाई फेमिनिज्मले जन्माएको विकृतिका रूपमा लाञ्छना लाग्ने गरेका छन्। हामीलाई जेन्डर एक्टिभिज्म आवश्यक हो कि फेमिनिज्म? हाम्रो न्यायले खोजेको समानता वा हिंसामुक्त परिवेशले एउटा पक्षलाई मात्रै हेर्छ कि समतलीय र सन्तुलित ढंगबाट हेर्छ भन्ने बहस पनि उठेको छ र उठ्नु पर्छ पनि।
विज्ञान र प्रविधिको विकासले पुरुष वा महिलाको आवश्यकता र उपलब्धताको नै विकल्पको समेत परिकल्पना गरिसकेको आजको विश्वमा महिला वा पुरुषले आफ्नै कोणको बुझाइ र व्याख्याअनुसार हिंसाको व्याख्या गर्ने र त्यसको उपचारको वकालत गर्नु आफैंँमा अधुरो र अपुरो हुन्छ। काठमाडौंँमा व्याख्या गरिने हिंसाको प्रकृति कञ्चनपुर वा फिदिमको समाजले उस्तै ढंगले अनुभूति गरिरहेको नहुन सक्छ। आयातीत परिभाषालाई लिएर वकालत गर्नुभन्दा अवस्था र परिवेशअनुसार हिंसाको अनुभूति र उपचारको चेतना निर्माण गर्न हाम्रा पहल हुनुपर्छ भन्ने मेरो निष्कर्ष हो।
महिला अधिकार अभियन्ता क्लारा जेट्किन, क्रान्तिकारी कम्युनिस्ट योद्धा रोजा लक्जम्वर्ग, अधिकारकर्मी मिरावल दिदीबहिनीले उठान गरेको महिला अधिकारको विषय र यसले वकालत गरेको नागरिक तथा राजनीतिक कोण एवं सामाजिक विश्लेषण आज पनि त्यही अवस्थामा मात्रै वकालत भइरहेको छ। सामयिकताका आधारमा गर्नुपर्ने बहसमा हामी प्रवेश नै गर्न सकेका छैनौंँ।
मिरावल दिदीबहिनीकै घटना र त्यही परिवेशमा मात्रै अल्झिरहेको महिला हिंसाविरुद्धको दिवसलाई आम रूपमा लैंगिक हिंसाविरुद्धको अभियानका रूपमा लैजानपर्ने आवश्यकतातर्फ समेत बहस गर्नुपर्ने आवश्यकता छ। अर्कातर्फ बायोलोजिकल र साइकोसोसियल कोणबाट महिलाको अधिकारलाई व्याख्या गर्ने गरी १५० वर्षअगाडि सिमन द वेवियरले लेखेको द सेकेन्ड सेक्स पुस्तकले चित्रण गरेको महिला चेतना र उनले स्थापित गरेको लैंगिक व्यवहारको उदाहरणलाई पनि आजको समाजले अक्सेप्ट गर्न त परै जाओस्, अपडेटसमेत गर्न सकेको छैन।
हाम्रा अभियन्ताले ब्यानर राखेर प्रस्तुत गर्ने कार्यपत्र र दिवस मनाउनाले न उपयुक्त अवधारणा अध्यावधिक गर्न सकेको छ न हाम्रो धरातलीय यथार्थअनुसार नयाँ बाटो नै निर्माण गरेको छ। सेन्ट्रिक अफ अट्र्याक्सनको होडबाजीले मात्रै नेतृत्व पङ्क्तिमा उभिएकाहरूबाट यस्ता अभियानले गति पाउन सक्दैनन्। कृत्रिम बाैद्धिकता (एआई) मा रूपान्तरण हुँदै गरेको युवा पुस्तालाई यतिबेला अधिकारका कुरा बोलेर मात्रै मनाउन सकिँदैन। उनीहरूले चाहँदा हामीले पढाउने गरेको अभियन्ताको इतिहास र योगदानको चर्चा क्षणभरमै ‘गुगल सर्च’ गरेर हाम्रोभन्दा राम्रोसँग व्याख्या गर्न सक्छन्। हामीलाई यतिबेलाको आवश्यकता र भूधरातलीय यथार्थअनुसारका समस्या पहिचान र समाधानको निर्माण हो। जुन उनीहरूले पनि सहजै प्राप्त गर्न सकिरहेका छैनन् र उनीहरू आफैँ पनि समस्या भिन्न ढंगले भोगिरहेका छन्। फेमिनिस्ट र फेमिनिज्मको भाष्यलाई त्यही पुरानै कोणबाटभन्दा पनि समयअनुकूल परिस्कृत गर्न जरुरी छ।
(लेखक टेलिभिजन पत्रकार हुन्।) राससबाट
Shares
प्रतिक्रिया