जातीय भेदभाव तथा छुवाछूत अभियोगमा पक्राउ परेकी मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १, पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमकी सञ्चालक भुवनेश्वरी आचार्य धरौटीमा रिहा भएकी छन्।
जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले बिहीबार आचार्यलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले नेपालखबरलाई जानकारी दिए।
‘उहाँ (भुवनेश्वरी आचार्य) १० हजार धरौटी राखेर रिहा हुनुभएको छ’, उनले भने।
आचार्यविरुद्ध मोरङकै उर्लाबारी नगरपालिका वडा नम्बर ३ निवासी ६२ वर्षीया शोभा सुन्दासलाई जातकै कारण वृद्धाश्रमबाट निकालेको अभियोग छ।
सुन्दासले गत आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा दिएको जाहेरीका आधारमा वृद्धाश्रम सञ्चालक आचार्यलाई प्रहरीले भोलिपल्ट सोमबार पक्राउ गरेको थियो।
तीन दिनदेखि हिरासतमा रहेकी आचार्य बिहीबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि १० हजार धरौटीमा रिहा भएकी हुन्। मुद्दाको फैसला हुन भने बाँकी छ।
पीडित सुन्दासले प्रहरीमा दिएको जाहेरीअनुसार सञ्चालक आचार्यले बोलाएपछि उनी उर्लाबारी नगरपालिका–३ वडा कार्यालयको सिफारिस लिएर यही मंसिर १४ गते जागृति वृद्धाश्रम पुगेकी थिइन्। तर सुरुमा आफूलाई वृद्धाश्रमभित्र लगेकी आचार्यले सिफारिस पत्र हेर्नासाथ दमाईं जातको भन्ने खुलेपछि ‘यस्तो जातको हुँदैन’ भनी फिर्ता पठाएको उनले उल्लेख गरेकी छन्।
रुकुम हत्याकाण्ड : यस्तो छ वडाध्यक्षसहित २४ जनालाई जन्मकैद फैसलाको पूर्णपाठ
Shares
प्रतिक्रिया