आमरण अनशन बस्न कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेज पुगेका प्रा.डा. गोविन्द केसी र स्थानीय संघर्ष समितिबीच विवाद भएको छ।
गेटा मेडिकल कलेजमा अनशन बस्न काठमाडौंबाट जहाज चढेर पुगेका केसीलाई संघर्ष समितिका सदस्यहरूले फर्काइदिएका हुन्।
केसीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरूले अवरोध गरेका थिए।
स्थानीयले अवरोध गरेपछि केसी आक्रोशित मुद्रामा देखिए। उनले स्थानीय संघर्ष समितिका सदस्यहरूलाई आफूले देखाइदिने पनि भन्न भ्याए।
संघर्ष समितले आफूलाई प्रहरी लगाएर गेटामा छिर्न नदिएको आरोप केसीको थियो। गेटामा छिर्न नपाएपछि केसी अनसन नबसी फर्किएका छन्।
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रतिष्ठानको विषयलाई केसीलाई आफ्नो मुद्दा नबनाउन आग्रह गरेका थिए। त्यसपछि आफूलाई पुलिस लगाएर रोकेको भन्दै आक्रोशित उनी त्यहाँबाट हिँडे।
सरकारले पटक–पटकका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार साँझ ५ बजेदेखि तीन दिन अनसन बस्ने घोषणा गरेका थिए।
केसीले गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न माग गरेका थिए। तर आफूहरुले विश्वविद्यालय चाहिने माग गरेकाले केसीलाई साथ दिन नदिने अडान संघर्ष समितिका सदस्यहरूले राखेका छन्।
Shares
प्रतिक्रिया