मिटरब्याजीविरुद्ध लामो समयदेखि संघर्षरत पीडितहरुको संघर्ष समितिले न्याय मार्च गर्ने भएको छ।
माघ १६ गतेबाट सुरु हुने मार्च पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकैसाथ शुरु हुनेछ। मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुश्वाहले सरकारले मिटरब्याजीको पक्षमा काम गरेकोले पीडितले दबाबमूलक न्याय मार्च गर्नुपरेकाे बताए।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको आयोजनामा हुने न्याय मार्च विभिन्न चरणमा हुनेछ। पूर्व र पश्चिमबाट एकै साथ सुरु हुने न्यायमार्च काठमाडौँ आएर वृहत आन्दोलनमा रुपान्तरित हुने समितिका अध्यक्ष कुश्वाहले बताए।
‘६ बुँदे माग सहित न्याय मरेको देशमा न्याय मार्च गर्दैछौँ । सडक संघर्षबाट निरन्तर खबरदारी गर्नेछौँ', कुश्वाहले भने।
न्याय मार्च गर्दै काठमाडौँमा आन्दोलन गर्न आउन लागेको टोलीको ६ बुँदे माग रहेको छ। जसमा मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरु अवैध घोषणा गर्नुपर्ने, जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तनान्तरण बदर गर्नुपर्ने, मिटर ब्याज अपराध सम्बन्धि शक्तिशाली कानुन निर्माण गरी पुर्णाधिकार सहितको अधिकार सम्पन्न न्यायीक आयोगको गठन गर्नुपर्ने माग रहेका छन्।
सरकारले गठन गरेको आयोगले मिटरब्याज पीडितका पक्षमा काम गर्न नसकेको बरू छलफल गराउने बहानामा जिल्ला प्रशासन कार्यालयलाई विचौलियाको रूपमा स्थापित गरेको समितिको आरोप छ। ‘मिटरब्याजीहरूले पीडितहरूमाथी निरन्तर प्रताडित गरिरहेको छ।
हालसम्मका कानुनहरू मिटर ब्याज समस्याको समाधान गरि पीडितलाई न्याय दिलाउने पक्षमा छैन’,अध्यक्ष कुश्वाहले बताए।
Shares
प्रतिक्रिया