ad ad

समाज


अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर

अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर

फाइल तस्बिर


नेपालखबर
माघ १८, २०८० बिहिबार १७:६, काठमाडौँ

नक्कली कागजात तयार गरेर सेटिङमा भिजिट भिसामा पठाएको आरोपमा २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका बहालवाला ९ जना अधिकृतसहित २२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो। 

यीमध्ये एकजना अधिकृतसहित १० जना पक्राउ परेका छन्। ८ अधिकृतसहित १२ जना अहिले फरार छन्। 

पक्राउ पर्नेमा नवलपारासीको कावासोती घर भई हाल भरतपुर महानगरपालिका ८ खैरहनी बस्ने ४४ वर्षीया गीता शाह, काठमाडौँको तीनकुनेका ३७ वर्षीय अरुण दाहाल, सिरहाको मिर्चैयाका २७ वर्षीय सरोजकुमार यादव, पश्चिम रुकुमको सानोभेरी १० घर भई हाल जाजरकोटको भेरी नगरपालिका बस्ने अध्यागमन अधिकृत ३७ वर्षीय नरवीर खड्का र रामेछापको दोरम्बा गाउँपालिका ७ का ३१ वर्षीय पदम लामा छन्। 

यस्तै काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ बस्ने ३९ वर्षीय मनोज तामाङ, स्याङ्जाको चापाकोट नगरपालिका १ पैदीमगरेका ३९ वर्षीय रामप्रसाद भण्डारी, गुल्मीको सत्यवती गाउँपालिका ७ घर भई काठमाडौंको टोखा बस्ने स्काइ टुर्स एण्ड ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, स्याङ्जाको वालिङका रविन अर्याल र मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्की पनि पक्राउ परेका छन्। 

फरार १२ जनाविरुद्ध पनि मुद्दा दायर भएको छ। 

विमानस्थल अध्यागमन कार्यालयका पूर्व अधिकृतहरु ताराबहादुर कुँवर अध्यागमन कार्यालयमा कार्यरत अधिकृतहरु कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागोविरुद्ध मुद्दा दायर भएको छ। उनीहरु सबै फरार छन्। 

यस्तै सिनामंगलको होटल बाल्टिक इनका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का, बाराको सिमराकी २३ वर्षीया कौशिला मगर, सोलुखुम्बु घर भई मूलपानी बस्ने ४० वर्षीया लक्ष्मी राई र सिन्धुलीको कमलामाई नगरपालिकाकी ३४ वर्षीया रिता दमाईविरुद्ध पनि मुद्दा चलाइएको छ। 

कात्तिक १४ देखि नै अनुसन्धान
गत कात्तिक १४ गते विभिन्न एयरलाइन्सबाट पर्यटक भिसामा विभिन्न देश जान लागेका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा उनीहरुको हवाई यात्रा अनुमति लगायतका कागजात शंकास्पद देखिएको थियो। 

त्यसपछि प्रहरीले सम्बन्धित एयरलाइन्सका कर्मचारीसँग सोधपुछ गरेको थियो। एयरलाइन्सले समेत कागजातहरु पूरा नभएको भनेपछि

उनीहरूका राहदानी लगायतका कागजात प्रहरीले नियन्त्रणमा लिएको थियो। 

त्यसपछि विमानस्थल सुरक्षा प्रहरीले यी कागजात उपत्यका अपराध अनुसन्धानन कार्यालयमा पठाएको थियो। अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गर्ने क्रममा कुवेत जान लागेका महिलाहरुबाट बरामद भएका कागजात नक्कली भएको पुष्टि भएको थियो। 

नक्कली श्रम स्वीकृति बनाइदिने गीता साहसहितलाई प्रहरीले सुरुमा पक्राउ गरेर अनुसन्धान थालेको थियो।

मंसिर १७ गते पक्राउ परेका उनीहरुले नक्कली प्रहरी रिपोर्ट, श्रम स्वीकृति लगायत तयार गरेर ट्राभल्सका कर्मचारीले सेटिङ  मिलाउने गरेको खुलेको थियो।

ट्राभल्सका कर्मचारीलाई पक्राउ गरेसँगै विमानस्थलको अध्यागमन कार्यालयमा कार्यरत अधिकारीहरुले नै घुस लिएर नक्कली कागजातका आधारमा विदेश पठाउन संलग्न रहेको खुलेको थियो। 

विचौलिया सरोज कुमार यादवले अध्यागमनका अधिकृत नरविर खड्कालाई रकम दिएको बयान दिएका थिए। 

अध्यागमनका अधिकृत खड्कालाई मंसिर २६ गते पक्राउ गरेको थियो। उनको साथबाट २ लाख रुपैयाँ फेला परेको थियो। उक्त रकम सेटिङ मिलाए बापतको भएको उनले स्वीकार गरेका थिए। 

अभियोग पत्रमा भनिएको छ, ‘अध्यागमन कार्यालयका अधिकृतहरु कुशल बराल, तारा बहादुर कुँवर, शैलेन्द्र ढकाल, बिमल पौडेल, बिष्णु अर्याल भन्ने बिष्णु प्रसाद आचार्य, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो समेतले आर्थिक लाभ लिई आपसमा मिलेमतो गरी संगठित भई विभिन्न व्यक्तिहरुको नाममा विदेशी मुलुकहरु दुवई, कतार, मलेसिया, कुवेत, साउदी अरेविया समेतमा भिजिट भिषामा ग्यारेण्टी पठाई दिन्छौं भनी अध्यागमन कार्यालयका कर्मचारी, टुर एण्ड ट्राभल्सका सञ्चालकहरु, अनलाईन सेवा सञ्चालक, एजेण्ट र जाने व्यक्तिहरूसमेतसँग आपसमा मिलेमतो गरी विभिन्न सरकारी तथा सम्वन्धित निकायहरुवाट अन्य व्यक्तिहरुको नाममा जारी भएका कागजातहरु, प्रहरी प्रधान कार्यालयवाट जारी भएको चारित्रिक प्रमाण पत्र, नाता प्रमाणित प्रमाण पत्र, स्वास्थ्य परिक्षण (मेडिकल) रिपोर्ट, बैंकको छाप, स्टेटमेण्ट समेत किर्ते गरी तयार गरी मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा ९१० ले निषेधित उपदफा ९२० ले परिभाषित लिखत सम्बन्धि कसूर गरेको पुष्टि हुन आयो।’

उनीहरुले सरकारी कागजात तथा छाप कीर्ते गरेको भन्दै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवानाको माग गरिएको छ। यस्तै संगठित अपराधको कसुरमा ५ वर्षसम्म कैद र ५ हजार रुपैयाँ जरिवानको माग गरिएको छ। 

यस्तै आन्तरिक राजश्व विभागमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .