ad ad

समाज


आज सातै प्रदेशमा पर्‍यो पानी, राति पनि वर्षा-हिमपातको सम्भावना

आज सातै प्रदेशमा पर्‍यो पानी, राति पनि वर्षा-हिमपातको सम्भावना

फाइल फाेटाे


नेपालखबर
माघ २१, २०८० आइतबार २०:३४, काठमाडौँ

पश्चिमी वायुको प्रभावले आज (आइतबार) देशभर मौसम बदली भई सातै प्रदेशमा पानी परेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले छिटपुट भए पनि आज सातवटै प्रदेशका विभिन्न स्थानमा वर्षा भएको जानकारी दिइन्। 

‘आज दिउँसो सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान, बागमती प्रदेशका थोरै स्थान तथा कोसी र मधेस प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको हो’, उनले भनिन्।

अहिले पनि सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जानकारी उनले दिइन्। 

यसैबीच मौसम महाशाखाले जारी गरेको साँझको बुलेटिनअनुसार आज राति देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) हुनेछ। यस क्रममा  सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कोसी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्कासम्म वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ। 

मौसम बदली र वर्षा भएसँगै देशभर चिसो बढेको मौसमविद् नगरकोटीले बताइन्। 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

अहिलेको प्रणाली (वर्षा गराउने पश्चिमी न्यून चापीय प्रणाली) ले भोलि (सोमबार) सम्मै प्रभाव पार्ने देखिएको छ।  

‘त्यसैले भोलिसम्मै पानी पर्ने तथा चिसो बढ्ने सम्भावना देखिन्छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘भोलि रातिबाट चाहिँ मौसम क्रमशः सुधार हुँदै जाने सम्भावना देखिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .