घुमफिर गर्न रूचाउने र आफ्नो घुमफिर अरूलाई देखाउने ‘कन्टेन्ट क्रिएटर’ हुन् – कञ्चन राई र पूजा रिजाल। घुमन्तेको नामले परिचित कञ्चन र सोलो ट्राभलर पूजाले सोमबार पोखरामा आफ्नो घुमफिर अनुभव सुनाए।
नेपाल लिटरेचर फेस्टिभलमा सहजकर्ता दीपकराज जोशीसँग ‘घुमन्तेका कुरा’ सत्रमा उनीहरूले घुमफिर अनुभव मात्र सुनाएनन् घुम्न जानुअघि के–के गर्ने भनेर टिप्स पनि दिए।
पूजाको शब्दमा घुम्नु भनेको कुनै गन्तव्य पुग्नुमात्र होइन। आफू गन्तव्यसम्म पुग्दा बास बसेको, खानपिन अनुभव र मौसम पनि यात्राका महत्वपूर्ण पाटो रहेको उनले सुनाइन्।
‘घुमौं भनेर त्यहाँ गएर खाना कस्तो छ, संस्कृति थाहा पाउन त्यहीँ जान पर्छ। कहीँ बस्न मन लाग्छ। कुनै ठाउँको खाना मीठो लाग्छ,’ उनले भनिन्, ‘घुम्नु भनेको ठाउँमा पुग्नुमात्र होइन। को मान्छे भेटिन्छ, कस्तो खाइन्छ, कस्तो मौसम थियो भन्ने यादले ट्राभलसँग जोड्छ।’
पैसा र समय खर्चिएर किन घुम्ने? हामीले आफ्नो जीवनलाई दुःखको कुन अवस्थासम्म धान्न सकिन्छ भन्ने बुझ्न पनि घुम्न आवश्यक रहेको पूजाले बताइन्। यात्राले धैर्य र घुलमिल हुन सिकाएको अनुभव रिजालको छ।
‘ट्राभल भनेर हामीले दिमागमा वाह भन्ने बनाउँछौं। ट्राभल दुःख पनि हो। कहिलेकाहीँ क्याम्पिङ गर्दा कहिल्यै नगर्नु परेजस्तो हुन्छ,’ पूजाले थपिन्, ‘गन्तव्यमा पुग्ने लक्ष्य हुन्छ, कसैको जहाँसम्म पुग्छु अनि फर्कन्छु भन्ने हुन्छ। आफूलाई मनपर्ने कुरा र कसरी बाँच्न सकिन्छ भन्ने बुझ्न पनि घुम्ने हो।’
मनोरञ्जन लिनमात्र भन्दा पनि आफूमा परिवर्तन ल्याउन पनि घुम्नुपर्ने कञ्चनको भनाइ छ। घुम्न थालेदेखि आफ्नो सोचाइ र रुचीमा सकारात्मक परिवर्तन भएको उनले अनुभवसहित सुनाए।
‘पहिला एनटीभीमा लोकदोहोरी बझ्दा झर्को लाग्थ्यो। आजकल लोकदोहोरी र परम्परागत धुन बज्यो भने कहाँको रैछ, कुन भेगको रैछ, कसले गाउने रैछ भन्ने चासो लाग्छ,’ उनले भने।
घुम्न जाँदा गाउँमा सहयोग गर्ने भावना देखेर आफू प्रभावित रहने गरेको र यो नेपालको सुन्दर पक्ष भएको राईले बताए। तर, विकासले गर्दा गाउँमा रहेको यो ‘असल मानवीय संस्कार’ गुम्न सक्ने चिन्ता उनले सुनाए।
‘कुनै गाउँ घुम्दा, नयाँ ठाउँ जाँदा हामी पर्यटक होइन। हामी बाटो हिँड्ने बटुवा मात्र हो,’ उनले भने, ‘पानी वा चिया माग्यो भने यसले चियाको पैसा यति दिन्छ भनेर अपेक्षा गर्नु हुँदैन। त्यो नेपालको मीठो पाटो छ। तर, विकासले गर्दा विस्तारै गुम्दै जान्छ होला।’
विकास कार्यको पछाडि दौडँदा र व्यस्त जीवनशैलीले धेरै देशका जनताले सहयोगको भावना नै गुमाएको राईले सुनाए।
नेपालको पर्यटन बजारले डिजिटल हिसाबले काम गर्न नसकेको र ट्राभल एजेन्सीले आफूजस्तै घुमफिर गर्नेसँग सहकार्य गर्न सके दुवैलाई फाइदा हुने बताए। स्थानीय तहले आफ्नो गाउँ–ठाउँका गन्तव्य चिनाउन प्रयास गरे पनि यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको सुझाव छ।
अरूलाई नयाँ–नयाँ गन्तव्य देखाउने र घुम्न प्रेरित गर्नेका भने आफ्नै दुःख छन्। क्यामरा लिएर ‘स्टोरी’ खोज्दै हिँड्दा घुम्नुको मज्जा लिन नसकेको राईको अनुभव छ।
‘घुम्ने भनेको क्यामरा लिएर त्यो ठाउँको बारेमा सोधखोज गर्ने कामजस्तो भइसक्यो। जसले गर्दा मेरो ५० प्रतिशत घुमाइको मज्जा घटेको छ,’ उनले भने।
भूगोलमा सयौं गुणा ठूला देशभन्दा नेपाल सानो भएपनि धेरै विविधता रहेको तर त्यसलाई प्रयोग गर्न नसकेको राईले बताए।
पछिल्ला वर्ष स्थानीय सरकार पनि आफ्नो ठाउँका गन्तव्य चिनाउन सक्रिय छन्। स्थानीय सरकारहरु पनि आफ्नो ठाउँ चिनाउन सक्रिय हुनु निकै राम्रो पक्ष भएको रिजालको भनाइ छ। कहीँ घुम्न जानुअघि त्यो ठाउँको बारेमा अध्ययन गर्न, आफ्नो खर्चको हिसाब गर्न र सुरक्षाको अवस्था के छ भन्ने पनि थाहा पाउन उनको सुझाव छ।
घुमफिरमा निस्कँदा डेटाबेसको अभाव र घुम्न जाने ठाउँबारे अध्ययन गर्ने स्रोतको कमी पर्यटन क्षेत्रको समस्या भएको पूजाले बताइन्।
Shares
प्रतिक्रिया