ad ad

समाज


मधेस र कोसीबाहेक सबै प्रदेशमा वर्षा, आज कहाँ कति पर्‍यो पानी?

मधेस र कोसीबाहेक सबै प्रदेशमा वर्षा, आज कहाँ कति पर्‍यो पानी?

नेपालखबर
फागुन २०, २०८० आइतबार २१:३३, काठमाडौँ

आज (आइतबार) बिहानैदेखि देशभरको मौसम बदलीसँगै विभिन्न स्थानमा वर्षा  भएको छ। अहिले पनि कतिपय ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यतिबेला नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभावको कारण मौसम बदली र वर्षा भएको हो। अहिले पनि गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशको पनि एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो र साँझ काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको महाशाखाले जनाएको छ। मधेस र कोसी प्रदेशबाहेक देशका पाँचवटै प्रदेशमा आज वर्षा भएको हाे। 

महाशाखाले आइतबार साँझ जारी गरेको मौसम बुलेटिनका अनुसार आज सबैभन्दा धेरै वर्षा कास्कीको लुम्लेमा भएको छ। लुम्लेमा आज १५ दशमलव २ मिलिमिटर वर्षा भएको छ। 

लुम्लेपछि आज जुम्लामा धेरै पानी परेको छ। जुम्लामा आज १४ दशमलव ५ मिलिमिटर वर्षा भएको छ भने नेपालगञ्जमा १४.२ मिलिमिटर वर्षा भएको छ। 

त्यसैगरी डडेलधुरामा १३.५, धनगढीमा ११.२, दिपायलमा १०.७, घोराहीमा १०.६, विरेन्द्रनगरमा ९.९, भैरहवामा ७, काठमाडौँमा ५.७, पोखरामा ३.४, ओखलढुंगामा १ र जोमसोममा १ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने र कतिपय ठाउँमा वर्षा हुने अनुमान महाशाखाको छ। 

मौसमविद्का अनुसार १० मिलिमिटरसम्मको वर्षालाई हल्का र त्यस भन्दा माथिको वर्षालाई मध्यम वर्षा भनिन्छ। 

आज लुम्ले, जुम्ला, नेपालगन्ज, डडेलधुरा, धनगढी, दिपायल, घोराही लगायतका ठाउँमा मध्यम स्तरको वर्षा भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .