राहदानी विभागका कर्मचारीहरूका लागि सोमबार अपरान्हको समय आश्चर्यनजक र अविस्मरणीय रह्यो।
अविश्मरणीय यसअर्थमा उनीहरूले सामूहिक रुपमा एक पूर्व राष्ट्राध्यक्षसँग तस्बिर खिचाउने अवसर प्राप्त गरे।
आश्चर्यजनक यसकारण त्यहाँ पुग्ने अरु कुनै पूर्व राष्ट्राध्यक्ष थिएनन्। बरु पूर्वराजा ज्ञानेन्द्र शाह थिए। उनी पत्नी कोमलसहित राहदानी विभाग पुगेका थिए।
पूर्वराजा शाह आकस्मिक रुपमा राहदानी विभागमा झुल्किँदा धेरै कर्मचारीलाई पत्यार लागेन। पत्यार नलागे पनि उनी पूर्वराजा शाह नै थिए।
उनी पत्नी कोमलका साथ त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका थिए। स्रोतका अनुसार उनले त्यहाँ करिब २० मिनेट बिताए।
‘उहाँ सभा ४ बजेतिर राहदानी विभाग आइपुग्नुभएको थियो’, विभागका एक अधिकृतले भने, ‘सुरुमा त उहाँ आउनु भएको पत्याउनै मुस्किल पर्यो।’
आफ्नो राहदानीको मिति सकिन लागेपछि नयाँ बनाउने क्रममा उनले पत्नी कोमलसहित आइतबार अनलाइन फर्म भरेका थिए।
अतिविशिष्ठ व्यक्ति भएकाले राहदानी विभागले सोमबार नै उनलाई नयाँ राहदानीका लागि बोलाएको थियो।
शाह पूर्व राष्ट्राध्यक्ष र कोमल पूर्व प्रथम महिला भएकाले दुवैले रातो पासपोर्ट पाउँछन्।
‘उहाँ आउने कुरा महानिर्देशक तीर्थराज अर्याल लगायत सीमित अधिकृतलाई मात्र जानकारी रहेछ’ ती अधिकृतले भने, ‘गोप्य राखिएकाले अधिकांश कर्मचारीलाई उहाँको आगमनबारे जानकारी थिएन।’
विभागमा आएपछि उनलाई त्यहाँ विशिष्ठ व्यक्तिाई राखिने कक्षमा राखिएको थियो। करिब पाँच मिनेट त्यहीँ रहेका उनलाई राहदानीका लागि फोटो खिच्ने कक्षमा लगिएको थियो।
त्यहाँ पूर्वराजा शाह र पूर्वरानी कोमलको तस्बिर खिच्ने लगायत अन्य प्रकृया पूरा गरिएपछि महानिर्देशक अर्यालले चियाका लागि आफ्नो कक्षमा लगेका थिए।
‘तर, पूर्वराजा—रानी निकै छिटो तल ओर्लनु भयो, सायद चिया पिउनु भएन, हतार भएको हो कि’, ती अधिकारीले भने।
विभागबाट निस्किने क्रममा कर्मचारीहरूले उनीसँगै तस्बिर खिच्न अनुरोध गरेका थिए। उनीहरूको अनुरोध पूर्वराजा शाहले सहजै स्वीकारे।
‘राहदानी विभागमा रहुन्जेल उहाँ हर्षित देखिनुहुन्थ्यो’, ती अधिकारीले भने, ‘निस्किने बेला तपाईंहरु सबैलाई थ्यांक यु’ भन्दै बिदा हुनुभयो।’
पहिलो पटक आफैँ राहदानी विभाग पुगेका पूर्वराजा शाहले यसअघि भने प्रतिनिधिमार्फत् राहदानी बनाउने गरेका थिए। यसअघि उनको राहदानी नारायणहिटीमा बनेको थियो, जुन ठाउँ उनले गणतन्त्र स्थापनापछि छाडेका थिए।
पहिले परराष्ट्र मन्त्रालय र राहदानी विभाग रहेको शीतल निवासलाई राष्ट्रपति कार्यालय बनाइएछि विभागलाई नारायणहिटी स्थानान्तरण गरिएको थियो।
Shares
प्रतिक्रिया