विवादास्पद व्यवसायी दुर्गा प्रसाईं शक्ति प्रदर्शनको शैलीमा सर्वोच्च अदालतमा प्रस्तुत भइरहेका छन्।
आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलयागत निकायका विरुद्ध २०७७ असारमा प्रसाईले दायर गरेको रिटको अन्तिम सुनुवाइ सर्वोच्चमा चलिरहेको छ। यसमा डा. गोविन्द केसीको अभियानका कारण आफ्नो व्यवसाय धरापमा परेको आरोप लगाइएको छ।
न्यायाधीशद्वय डा. कुमार चूडाल र सारंगा सुवेदीको इजलासमा आइतबार सुनुवाइ सुरु भएको थियो। आइतबार दिनभर निवेदक प्रसाईकै पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। आइतबार नसकिएपछि सोमबार पनि आधाभन्दा बढी समय प्रसाईकै वकिलले बोले।
प्रसाईले इजलासमा बद्रीबहादुर कार्की, रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, भीमार्जुन आचार्यलगायत हेभिवेट कानुन व्यवसायीको लस्कर नै उतारेका थिए। ती कानुन व्यवसायीले घन्टौँ बहस गरेका थिए। इजलासबाट उनीहरूलाई समय व्यवस्थानका लागि रुलिङ पनि भएन।
बहसका क्रममा अधिकांश समय डा. गोविन्द केसीको अभियानको आलोचना गरिएको थियो। दुर्गा प्रसाईको प्रशस्ति पनि सुनाइएको थियो। डा. केसीका कारण नेपालका धेरै स्वास्थ्य शिक्षा प्रदायक संस्था बन्द भएका र ठूलो रकम देशबाट बाहिरिएको भन्ने तर्क गरेका थिए।
कतिसम्म भने डा. केसीलाई धनगढीबाट लखेटेको भन्दै त्यसको समेत ‘महिमामण्डन’ कानुन व्यवसायीहरूले इजलासमै गरे।
सोमबार पनि बहस सकिएन। रिट ‘हेर्दाहेर्दै’मा राखेर मंगलबार पनि निरन्तर सुनुवाइ गर्ने भनिएको छ।
प्रसाईले इजलासमा मात्र ‘शक्ति’ देखाएनन्, बाहिर पनि ठूलै तामझाम र हुल नै उतारे। ठूल्ठूला महँगा गाडी, अगुवा–पछुवाको ठूलै समूह अनि निजी सुरक्षागार्ड समेत लिएर उनी पुगेका थिए।
इजलासमा मुद्दाका पक्षको प्रतिनिधित्व कानुन व्यवसायीले गर्छन्। बहस सुन्न मन लागे आफै जान सकिन्छ। कुनै वारेस पठाए पनि हुन्छ। तर, प्रसाईले ‘सेलिब्रिटी’ शैलीमा ठूलै तामझाम अदालतमा देखाइरहेका छन्।
सोमबार त प्रसाईका सहयोगी हतियारसहित पक्राउ परे। झापा जिल्लाबाट इजाजत लिइएको हतियार सर्वोच्चको प्रवेशद्वारमा बरामद हुँदा अर्कै व्यक्तिको हातमा थियो।
तर, मंगलबारको बहसमा जानै डर लागेको डा. गोविन्द केसीका कानुन व्यवसायी ओमप्रकाश अर्याल बताउँछन्। ‘भोलि हामी कसरी बहसमा जाने?’ अर्यालले नेपालखबरसँग भने, ‘हामी सुरक्षित छौँ भनेर कसरी ढुक्क हुने?’
डा. गोविन्द केसीका समर्थक तथा अभियन्ताहरूलाई आक्रमण गर्ने समूह हतियार बोकेरै अदालत जाने, शक्ति प्रदर्शन र हुलहुज्जत गर्ने अवस्था आँखैअगाडि देखिएकाले प्रसाईको विपक्षमा बहस गर्न पनि डरमर्दो भएको अधिवक्ता अर्यालको भनाइ छ।
सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेती भने अदालतमा कोही पनि डराउनुनपर्ने बताउँछन्।
‘हतियार पनि अदालतको प्रवेशद्वारमै समातिएको हो,’ उप्रेती भन्छन्, ‘अदालतभित्र सेवाग्राही, कानुन व्यवसायी कोही पनि डराउनुपर्दैन। सुरक्षाको उचित प्रबन्ध छ।’
Shares
प्रतिक्रिया