सोमबार अत्याधुनिक हतियारसहित सर्वोच्च अदालत छिर्न खोजेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका २ जना बडिगार्डलाई मुद्दा चलाइने भएको छ।
उनीहरूलाई मंगलबार नै अदालतबाट हिरासतमा राख्ने अनुमति लिएर हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाउने प्रहरीको तयारी छ।
जर्मनमा बनेको जीएसजी–५ अर्मेरिया परिनी एसआरएल इटली सहित सर्वोच्च अदालत छिर्न खोज्दा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का र राजकुमार धिमाललाई सर्वोच्च अदालत सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको थियो।
सोमबार दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको थियो। आफ्नो मुद्दामा सुनुवाइ हुने भएपछि प्रसाईं दलबलसहित सर्वोच्च पुगेका थिए।
सर्वोच्चमा प्रसाईंको शक्ति प्रदर्शन, कानुन व्यवसायी भन्छन्– बहसमा जानै डरमर्दो भयो
अदालतको मुख्य गेटमा प्रहरी निरीक्षक विजय भण्डारीको कमाण्डमा रहेको टोलीले उनीहरूको जाँच गरेको थियो। राजकुमारले बोकेको कालो झोलामा स्वचालित हतियार, त्यसको साना म्याग्जिन २ थान, ठूला म्याग्जिन २ थान, एउटा म्याग्जिन होल्डर र एक सय राउन्ड गोली बरामद भएको सर्वोच्च अदालत सुरक्षा एकाईले जनाएको छ।
उनीहरूको साथमा जिल्ला प्रशासन कार्यालय, झापाले जारी गरेको हतियारको इजाजत पनि फेला परेको छ। थप अनुसन्धान तथा कारबाहीका लागि सिंहदरबार वृत्तमा पठाएको छ।
प्रसाईंका कार्यकर्तालाई हतियारको इजाजत दिँदादेखि नै त्रुटि भेटिएको प्रहरीका उच्च अधिकारीले बताएका छन्।
‘हतियारको लाइसेन्स लिएको देखिन्छ। तर त्यस्तो खतरनाक हतियार व्यक्तिलाई दिन मिल्दैन। गृह मन्त्रालय अन्तरगतको प्रणालीमा पनि त्रुटि देखिएको छ। यस्तो हतियार व्यक्तिलाई दिन थालियो भने त ठूलो सुरक्षा चुनौती हुन्छ’, ती अधिकारीले भने।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले कानुनीरूपमा पनि हतियार बोकेर अदालतजस्तो संवेदनशील ठाउँमा जान मिल्दै नमिल्ने बताए।
‘निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी मान्छे त जम्मा हुन नमिल्ने भनिएको छ। अनि यस्तो ठाउँमा त्यस्तो हतियार लिएर हिँड्नु कानुनले मिल्ने कुरा भएन’, एसएसपी खत्रीले भने, ‘अब कानुनअनुसार प्रक्रिया अगाडि बढ्छ।’
यसअघि गृह मन्त्रालयले साना हातहतियारको लाइसेन्स लिएकाहरूलाई पनि परिपत्र गरेको थियो। एक ठाउँबाट लाइसेन्स लिए र अर्को ठाउँमा प्रयोग गर्न नमिल्ने भनिएको थियो।
यस विषयमा धेरैवटा त्रुटि देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
Shares
प्रतिक्रिया