नेपालका पहाडी र हिमाली जिल्लामा आज होली पर्व मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेलेर मनाइन्छ।
तराई मधेशका जिल्लामा भने भोलि (सोमबार) होली पर्व मनाइनेछ। आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्।
फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन्।
हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
केही वर्ष अघिसम्म काठमाडौँ उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ। होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीहरुको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गरेका छन्।
प्रहरीले विगतका घटनाहरुलाई मध्यनजर गरेर सुरक्षा प्रवन्ध मजबुत बनाएको बताउँदै उनले जसका लागि काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको बताए।
‘मादक पदार्थ सेवा गरी सवारी चलाउनेको संख्या अत्याधिक हुने गर्दछ, झैझगडा, चोरी, पकेटमारी र सवारी दुर्घटना हुँदा ज्यानै जानसक्ने भएकाले त्यसलाई मध्यनजर गरेर संयुक्त रुपमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा विभिन्न ठाउँहरुमा चोकहरुमा, ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङ हुन्छ,’ उनले भने, ‘अहिले भइरहेका कन्ट्रोल रुम भेकल छन्, त्यसमा कुनै ठाउँमा केही घटना भयो भने तत्काल परिचनालन गर्दछौँ र हाम्रा मोबाइल भ्यानहरु अरु रिजर्भहरु सँगै भइरहेका क्विक रेस्पोन्स टिमलाई साधन श्रोतयुक्त बनाएका छौँ। भीडभाड हुनेकुलाई मध्यनजर गरी ड्रोनबाट पनि निगरानी गर्नेछौँ।’
सम्भावित घटनाहरु हुन नदिनका लागि भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरेको पनि उनले जानकारी दिए।
होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गरे।
‘राजधानीको सुरक्षा व्यवस्थाको सन्दर्भमा सभ्य, सुरक्षित र व्यवस्थित बनाइ सद्भावपूर्ण र उल्लासमय ढंगले होली पर्व मनाउनको लागि सुरक्षा प्रवन्ध मिलाएका छाैँ। विगतमा भएका जोखिमहरुको मूल्यांकन गरेर कुन ठाउँमा कसरी के कस्ता घटनाहरु भएका थिए, त्यसको आधारमा हामीले हाम्रो सुरक्षा रणनीतिहरु बनाएका छौँ,’ उनले भने।
प्रहरीले नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखको नम्बर ९८५१२०५५५५ मा सम्पर्क गरिदिन आग्रह गरेको छ।
होली पर्वको अवसरमा सरकारले आज नेपालका हिमाली र पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ।
Shares
प्रतिक्रिया