जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हिउँद अर्थात् जाडोयाम औपचारिक रूपमा बिदा भएको झन्डै १ महिना हुन आँट्यो। यही मार्च १ तारिखदेखि ‘विन्टर सिजन’ (हिउँदयाम) बिदा भएर प्रिमनसुन लागिसकेको छ। जसलाई जाडो महिना मानिँदैन।
तर काठमाडौँ उपत्यकामा अहिले पनि बाक्लो ज्याकेट लगाउनुपर्ने गरी जाडो हुन छाडेको छैन।
किन?
मौसम महाशाखाका मौसमविद् मीनकुमार अर्याल भन्छन्, ‘प्रिमनसुन सिजन यस्तो हुन त नहुने हो, तर यो अचम्मकै विषय होइन, कहिलेकाहीँ यस्तो हुन्छ।’
मितिका हिसाबले जाडोयाम बिदा भनिए पनि यो बिदा भएको धेरै नभएकाले यसका सिस्टम बाँकी नै रहेको तर्क पनि उनले गरे।
उनका अनुसार अहिले नेपालमा एकसाथ तीनवटा मौसम प्रणाली सक्रिय भएका छन्। पश्चिमबाट पश्चिमी वायु आइरहेको छ भने पूर्वबाट न्यून चापीय प्रणाली। अनि बीचमा स्थानीय वायु विकास भएको छ।
‘पश्चिमी प्रणालीले पूर्व, पूर्वी प्रणालीले पश्चिम धकेल्दा बीचमा स्थानीय वायु पनि छ’, उनले भने, ‘यसले गर्दा तुलनात्मक रूपमा केही बढी चिसो भएकै हो।’
उनले थपे, ‘केही दिनयता दिनभर राम्रोसँग घाम लाग्न पाएको छैन, जसका कारण स्वाभाविक रूपमा अधिकतम तापक्रम घटेको छ, अधिकतम तापक्रम घट्नु भनेको जाडो हुनु हो।’
उनका अनुसार देशभरकै मौसम बदली भएर दिनभर घाम लाग्न नपाएकाले काठमाडौँ उपत्यकामा मात्र होइन, देशभर नै तुलनात्मक रूपमा चिसो बढेको छ।
अझै केही दिन मौसम यस्तै रहने अनुमान रहेको मौसमविद् अर्यालको भनाइ छ।
‘कचमचिएको यो सिस्टम सुध्निन राम्रैसँग पानी पर्नुपर्छ,’ उनले भने।
यो पनि : आज कस्तो रहला देशभरको मौसम?
Shares
प्रतिक्रिया