रौतहटमा बसको ठक्करबाट दम्पतीको ज्यान गएको छ।
बाग्मती–चन्द्रपुर खण्डमा आइतबार दिउँसो बसको ठक्करबाट दम्पतीले ज्यान गुमाएका हुन्।
घटनापछि स्थानीयले मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा सवारी ठप्प पारेका छन्।
बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।
पश्चिमबाट सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर पूर्व जाँदै गरेका राई दाम्पतीलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका राई दाम्पतीलाई उपचारका लागि चन्द्रनिपुर अस्पताल पुर्याइएको थियो। अस्पतालले दुवैलाई मृत घोषित गरेको छ।
घटनास्थलमा इलाका प्रहरीका डिएसपी गौरव महत र ट्राफिक प्रहरी निरीक्षक सुशील आचार्यसहितको टोली पुगेको थियो।
प्रहरीले बस चालक बाराको कोल्वीका धनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। मृतकका परिवारले घटनास्थलबाट प्रहरीले शव उठाएको भन्दै प्रतिवाद गरेर सडक जाम गरे।
Shares
प्रतिक्रिया