नेपालमा धार्मिक आस्था नराख्ने नास्तिक नागरिकहरूका लागि ५ लाख डलर लगानी गरेको आरोपपछि अमेरिकाले आफ्नो बचाउ गरेको छ।
नेपालस्थित अमेरिकी दूतावासले मंगलबार अमेरिका धार्मिक स्वतन्त्रताको पक्षमा रहेको जवाफ दिएको हो।
नेपालका धार्मिक आस्था नभएका नागरिकलाई राष्ट्रपति बाइडेन प्रशासनले ५ लाख अमेरिकी डलर बाँडेको कुरा फ्लोरिडास्थित रिपब्लिकन सांसद ब्रायन मस्टले संसदमा कुरा उठाएपछि नेपालस्थित दूतावासको यस्तो जवाफ आएको हो।
अमेरिकी सांसदले सार्वजनिक रुपमा कुरा उठाएपछि नेपाली सञ्चारमाध्यमले पनि चर्चा गरेका थिए।
यसलाई लिएर काठमाडौंस्थित दूतावासले अमेरिकाका कार्यक्रमहरूले कहिल्यै निश्चित धार्मिक विश्वास, दर्शन र सिद्धान्तलाई प्रवर्द्धन नगर्ने जवाफ दिएको हो।
‘अमेरिकी विदेश मन्त्रालयका कार्यक्रमले कहिल्यै कुनै निश्चित धार्मिक विश्वास, दर्शन वा सिद्धान्तलाई प्रवर्द्धन गर्दैनन्। ती कार्यक्रमहरूले दुर्व्यवहार, विभेद र हिंसाबाट मुक्त रही आफ्नो रोजाइको धर्म वा विश्वास ग्रहण गर्न वा अपनाउन सक्ने सबै ब्यक्तिको क्षमतालाई प्रवर्द्धन गर्छन्,’ दूतावासले मंगलबार भनेको छ, ‘यस कार्यक्रमले आफ्नो विश्वासका कारण विभेद र सीमान्तीकरण भोगेका दक्षिण एसियाका स्थानीय संघसंस्था र समुदायको क्षमता अभिवृद्धि गर्न सघाएको छ।’
दूतावासले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन पारित भएको २५ वर्षभन्दा लामो समयदेखि अमेरिका संसारका सबै ठाउँका बासिन्दालाई आफ्नो सिद्धान्तअनुसार विश्वास गर्ने वा नगर्ने अधिकारका पक्षमा रहेको पनि जिकिर गरेको छ।
दूतावासले अगाडि भनेको छ, ‘अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी अनुदानलाई सबै व्यक्तिको धार्मिक स्वतन्त्रताको प्रवर्द्धन र रक्षा गर्न तर्जुमा गरिएको हो। यसमा त्यस्ता देशका सीमान्तकृत धार्मिक वा विश्वास समुदायका सदस्यहरू पनि पर्दछन्, जहाँ उनीहरूले उत्पीडनको सामना गरिरहेका छन्।’
दूतावासले अमेरिका आउने आर्थिक सहयोगले जातीय विभेद तथा बालविवाहविरूद्ध लड्ने, सबैको सहिष्णुता र पारस्परिक सम्मानका लागि वकालत गर्ने जनाएको छ।
यस्ता कार्यमार्फत सीमान्तकृत विश्वास समुदायका सदस्यको संरक्षण र उनीहरूका लागि पैरवी गर्ने प्रयासमा आर्थिक सहयोग गरिएको पनि दूतावासले उल्लेख गरेको छ।
प्रतिक्रिया