उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि दक्षिण कोरिया राजदूत पार्क ताइयोङले मंगलबार सिंहदरबारमा भेटवार्ता गरेका छन्।
उक्त भेटका क्रममा नेपाल र दक्षिण कोरियाको दौत्य सम्बन्धको ५०औं वर्षगाँठको उपलक्ष्यमा शुभकामना अदान–प्रदान गरिएको छ।
भेटमा राजदूत ताइयोङले गृहमन्त्री लामिछानेलाई बधाई र सफल कार्यकालको शुभकामना पनि दिएको उनको सचिवालयले जनाएको छ।
राजदूत ताइयोङले रोजगारी अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा नेपाली कामदारको संख्या बढाउँदै लैजाने बचन पनि गृहमन्त्रीलाई दिएका छन्।
उनले दक्षिण कोरियामा कार्यरत कामदारलाई सीपसहित स्वरोजगारतर्फ अभिप्रेरित गर्ने र साना उद्यमको विकासमार्फत नेपाल फर्किएकालाई रोजगारी सिर्जनामा केन्द्रित गराउने प्रयास भइरहेको जानकारी दिए।
नेपालमा कोरियाबाट प्रत्यक्ष वैदेशिक लगानी र सहायतामा भित्र्याउन पनि जोड दिइएको राजदूतले बताएका छन्।
दक्षिण कोरियामा काम गर्ने श्रमिक र श्रमिकको परिवारको तर्फबाट समानजनक काम गर्न अवसर दिएकोमा गृहमन्त्रीले राजदूतलाई धन्यवाद दिए।
उनले कृषि, उद्योग, पर्यटन, सीप विकास, प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा दक्षिण कोरियाको ठूलो सहयोग र सहकार्य रहने अपेक्षा राखेका छन्।
दक्षिण कोरियामा लागु भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अनुकरणीय रहेकाले विश्वले नै अनुशरण गर्न सकिने मन्त्री लामिछानेले बताए। उनले सुशासन र भ्रष्टाचार अन्त्य नै आफ्नो पार्टीको उद्देश्य रहेको बताए।
असल मित्र रहेकाले दक्षिण कोरियासँग नेपालको आशा र अपेक्षा पनि धेरै क्षेत्रमा रहेको भन्दै मन्त्री लामिछानेले सहकार्यलाई थप प्रगाढ बनाउन आवश्यक रहेको बताए।
Shares
प्रतिक्रिया