जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल काठमाडौँको छाउनीस्थित आफ्नै घरमा मृत फेला परेकी छिन्।
३४ वर्षीय डाक्टर धौभडेल बिहीबार काठमाडौँको छाउनीस्थितआफ्नै घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनी केही दिनअघि घर बिदामा काठमाडौँ आएकी थिइन्।
‘उनका पति डा. कविराज भण्डारीले बाथरुममा सलको पासोमा झुण्डिएको अवस्थामा फेला पारिएको बयान प्रहरीलाई दिएका छन्,’ प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले नेपालखबरसँग भने, ‘घटनाको सम्बन्धमा हामी थप अनुसन्धान गरिरहेका छौँ।’
कपडाको सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटेपछि आफूले तुरुन्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा लगेको भण्डारीले प्रहरीलाई जानकारी गराएका छन्। सैनिक अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
धौभडेलले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेकी थिइन्। त्यसैगरी उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स गरेकी थिइन्।
उनले आत्महत्या गरेकाे दाबी उनका पतिले गरेका छन्। ‘हामी घटनाको विस्तृत अनुसन्धान गर्दै छौँ,’ एसपी अधिकारीले भने।
Shares
प्रतिक्रिया