चर्चित क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदर माग गर्दै दायर गरेको रिटमाथि शुक्रबार उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।
रिट सुनुवाइका लागि उच्च अदालत पाटनका मुख्यन्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासमा पेसी चढेको छ।
गौशाला २६ नामकी एकजना युवतीले दायर गरेको जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सन्दीप दोषी ठहर भएका थिए।
त्यसपछि उनले जिल्लाको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाएको थियो। उनले उक्त फैसला बदरको माग गरेका छन्।
पीडित भनिएकी युवती गौशाला २६ ले पनि सन्दीपलाई काठमाडौं जिल्ला अदालतले तोकेको सजाय कम भएको भन्दै पुनरावेदन गरेकी छन्।
गौशाला २६ लाई काठमाडौं जिल्ला अदालतले १८ वर्ष पूरा भएर बालिग भएको फैसला दिएको थियो। तर उनी नाबालिग नै रहेको दाबी गर्दै उच्चमा पुनरावेदन गरिएको हो।
उक्त निवेदनमा पनि शुक्रबार नै छलफल हुँदैछ। गौशाला २६ ले आफू नाबालिग रहेको दाबी गरेकी थिइन्। तर जिल्ला अदालतले उनी बालिग रहेको फैसला दिएको थियो।
Shares
प्रतिक्रिया