सहकारी पीडितहरुले सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारसँगको सम्बन्ध बिग्रिएको बताएका छन्।
सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमवार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका हुन्।
उनीहरुले आफ्ना नातेदार र परिवारका सदस्यहरुले विदेशमा गइ पठाएको पैसा सहकारीमा राखेको तर सहकारीबाट अहिले रकम निकाल्न नपाएपछि पारिवारिक कलह शुरु हुन थालेको बताए।
पत्रकार सम्मेलनका क्रममा बोल्दै एक सहकारी पीडितले विदेशबाट आफ्ना भाईले पठाएको रकम सहकारीमा जग्गा गरेको तर अहिले आफूले निकाल्न नपाएको बताए। उनले भाइले अहिले पैसा बारम्बार मागिरहेको र पैसा दिन नसक्दा भाइ नै रिसाएर बोल्न छोडेको बताए।
उनले भने, ‘विदेशबाट भाइले पठाएको पाँच लाख रुपैयाँ सहकारीमा जम्मा गरेको थिएँ। अहिले भाइले पैसा मागेको छ। तर मसँग दिने पैसा छैन, भाइ मसँग रिसाएको छ। बोलचाल छैन।’
उनले आफूले सहकारीमा दुःख गरेर जम्मा गरेको पैसा पाउँ भनेर सिंहदरबारसम्म धाउँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए।
उनले थपे, ‘सिंहदरबारसम्म पुगेँ, गुनासो लिएर तर म एक्लैको कुरा केही सुनेन। पुलिसले पनि सुनेन। हामी अरुको भाँडा माझेर खाने मान्छेको एक रुपैयाँ गरेर जम्मा गरेको पैसा मैले पाइनँ। सरकारले गरिव जनताको आवाज सुनेन। हामी गरिव दुःखीको सुनुवाई कहिले हुन्छ?’
उनीहरुले आफूले दुःख गरेर जम्मा गरेको रकम खाएर हिँड्ने छुट कसैलाई नरहेको भन्दै सरकारले तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
उनीहरुले सरकारले गरिव जनताको दुःख नसुनेको आरोप लगाए। गरिब दुःखीको सुनुवाई कहिले हुन्छ? भन्ने उनीहरुको प्रश्न थियो।
Shares
प्रतिक्रिया