कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नागरिकतामा शंका लागे राज्यले अनुसन्धान गर्न सक्ने बताएका छन्।
उनले एक विज्ञप्ति जारी गरी आफूसँग एउटा मात्र नागरिकता रहेको प्रस्टीकरण पनि दिएका छन्। पहिलाको नागरिकता पुरानो भएकाले नयाँ प्रतिलिपि मात्र लिएको तर त्यसमा विवरण भने फरक नरहेको उनको वक्तव्यमा उल्लेख छ।
‘राज्यलाई शंका लागेमा कुनै पनि विषयमा अनुसन्धान गर्न सक्छ, जिम्मेवार नागरिकका हैसियतमा म हार्दिक स्वागत गर्दछु,’ उनले लेखेका छन्, ‘मैले २०३४ मा नागरिकता लिएकामा नेपाली कागजको प्रति पुरानो भएकाले २०५७ मा प्रतिलिपि लिएको हुँ। जसमा २०३३/३४ को प्रतिलिपिअनुसार भनेर स्पष्ट उल्लेख छ। नम्बर पनि उही छ, मैले अरू नागरिकता लिएको छैन।’
पछि त्यही नम्बरमा अरू कसैका नाममा नागरिकता जारी हुन्छ भने त्यसको जिम्मेवारी आफूले लिन नसक्ने उनले स्पषट पारेका छन्।
‘२०३४ मा नागरिकता लिएपछि २०३६ मा अरू कसैका नाममा त्यही नम्बर लेखिएको रहेछ भने त्यो मेरो जिम्मेवारीको विषय होइन,’ उनको विज्ञप्तिमा लेखिएको छ, ‘त्यस्तै हिमालयन रि- इन्स्योरेन्सको प्रबन्धपत्रमा टाइप गर्दा नम्बर गलत भएको कम्पनीले नै जानकारी दिएको छ । अझ, प्रबन्धपत्रसहित कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाइएको फाइलमा मेरो नागरिकताको प्रतिलिपि नत्थी भएकाले सत्यतथ्य आफै स्थापित हुन्छ।’
कान्तिपुरले प्रकाशित गर्दै आएका समाचारबाट अत्तालिएको कोही कसैले 'स्टन्टबाजी' गरेर प्रभावित पार्न खोज्छ भने त्यो स्वैरकल्पना मात्र हुने सिरोहियाको भनाइ छ।
‘विभिन्न कालखण्डका शासकहरूले विगतमा पनि यस्ता हत्कन्डा गरेका हुन्, तर कान्तिपुरले गर्दै आएको निर्भिक पत्रकारिता आफैमा पर्याप्त जवाफ हो,’ सिरोहियाको विज्ञप्तिमा छ।
Shares
प्रतिक्रिया