नेपाल प्रहरीका एक निरीक्षकमाथि सर्लाहीको हरिवनमा एक महिलामाथि भएको कुटपिटसम्बन्धी मुद्दाको एक कागज किर्ते गरेको आरोप लागेको छ।
इलाका प्रहरी कार्यालय, हरिवन, सर्लाहीमा कार्यरत छँदा प्रहरी निरीक्षक भुपेन्द्र गिरीले चिकित्सकको प्रतिवेदन किर्ते गरी मुद्दा कमजोर बनाएको आरोप पीडित पक्षले लगाएको छ।
पीडितका तर्फबाट हरिवनका जितबहादुर कार्कीले दिएको जाहेरी दर्खास्त भने प्रहरीले दर्ता गरेको छैन।
जिल्ला प्रहरी कार्यालय, मलंगवामा प्रत्यक्ष उपस्थित भएर दिएको जाहेरी दर्ता नभएपछि पीडितले हुलाकमार्फत पनि पठाएका छन्। गृहमन्त्री रवि लामिछानेको सचिवालयसम्म पनि पीडितले उजुरी दिएका छन्। तर, अहिलेसम्म दर्ता नभएको कार्कीले बताए।
हरिवनको नयाँरोडमा अवस्थित मानव सेवा आश्रम आश्रममा रहेकी एक महिलामाथि कुटपिट तथा अमानवीय व्यवहार भएको भनी पीडित परिवारले प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले अनुसन्धान गरी मुद्दा अगाडि बढायो।
त्यस क्रममा चिकित्सकले घाउ जाँच गरी प्रतिवेदन दिँदा एकथरी दिएको र पछि प्रहरीले अदालतमा पेस गर्दा प्रतिवेदन नै हेरफेर गरेको, त्यही कागजका कारण मुद्दा कमजोर भएको र अदालतबाट पनि न्याय नपाएको पीडित पक्षको आरोप छ।
Shares
प्रतिक्रिया