भारतका प्रधानन्यायाधीश डा. धनञ्जय यशवन्त (डीवाई) चन्द्रचूड शुक्रबारदेखि नेपाल भ्रमणमा छन्।
शुक्रबार साँझ काठमाडौँ आइपुगेका उनी पूर्वनिर्धारित कार्यक्रमअनुसार (आइतबार) मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने तालिका छ।
तर शनिबार रातिदेखि पोखराको मौसम खराब देखिएकाले आज पनि मौसमको अवस्था हेरेर मात्र प्रधानन्यायाधीश चन्द्रचूड त्यसतर्फ जाने वा नजाने तय हुने सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले बताए।
‘हिजो राति पोखराको मौसम खराब छ भन्ने सुनिएको छ’, उनले भने, ‘प्रधानन्यायाधीशज्यू जाने वा नजाने अहिलेसम्म कुनै सूचना आएको छैन, आज मौसम कस्तो हुन्छ, त्यो विचार गरेर निर्णय होला।’
उनी आजै राति स्वदेश फर्किने तालिका छ।
चन्द्रचूड नेपालको औपचारिक भ्रमण गर्ने पहिलो भारतीय प्रधानन्यायाधीश बनेका छन्।
त्यसैले उनको भ्रमणलाई नेपालको सर्वोच्च अदालतले उच्च महत्त्व दिएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतीय प्रधानन्यायाधीश चन्द्रचूड नेपालको औपचारिक भ्रमणमा आएका हुन्। साथमा उनकी श्रीमती कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्टमास्टर चेतन अरोरा छन्।
प्रधानन्यायाधीशका छोरा प्रधानन्यायाधीश
चन्द्रचूड भारतका ५० औँ प्रधानन्यायाधीश हुन्। राष्ट्रिय विधिक सेवा प्राधिकरणका पूर्वकर्मचारी रहेका उनी बम्बे उच्च अदालतका न्यायाधीश हुँदै अलाहवाद उच्च अदालतका मुख्य न्यायाधीश भएर पनि काम गरेका थिए।
सर्वोच्च अदालतको न्यायाधीशमा ८ वर्षअघि मात्र नियुक्त भएका हुन्। २०७९ कात्तिकमा उनले सर्वोच्च न्यायालयको नेतृत्व सम्हालेका हुन्।उनी आउँदो कात्तिक महिनासम्म न्यायपालिकाको नेतृत्व गर्नेछन्।
रोचक पक्ष के भने उनका बुवा पनि प्रधानन्यायाधीश थिए। भारतीय सर्वोच्च अदालतका १६ औँ प्रधानन्यायाधीश यशवन्त विष्णु चन्द्रचूडले सर्वाधिक लामो कार्यकाल बिताएका थिए।
२०३४ फागुनदेखि २०४२ असारसम्म उनी प्रधानन्यायाधीश पदमा रहेका थिए। ७ वर्ष ४ महिना उनले न्यायपालिकाको नेतृत्व गरेका थिए।
बाबुछोरा नै प्रधानन्यायाधीश भएको भारतको यो पहिलो घटना मानिन्छ।
Shares
प्रतिक्रिया