सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम कारबाही गर्न गृह मन्त्रालयको समितिले सिफरिस गरेको छ।
सहसचिव भरतमणि रिजालको संयोजकत्वमा गठित समितिले कारबाहीको कानुनी प्रक्रियासम्बन्धी सिफरिससहितको प्रतिवेदन दिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपालखबरलाई जानकारी दिए।
यसअघि उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरी सुझाव दिन मन्त्रालयले रिजालको नेतृत्वमा समिति बनाएको थियो।
‘समितिले कानुनको दफा उद्धृत गरी कारबाहीको प्रक्रिया सुझाएको छ। प्राविधिक प्रकृतिको प्रतिवेदन हो,’ प्रवक्ता भट्टराईले भने, ‘अब सम्बन्धित निकायमा लेखी पठाउँछौँ।’
आचार्य आयोगले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक किरण वज्राचार्य, एसपी सञ्जयसिंह थापालगायतलाई कारबाही गर्नुपर्ने उल्लेख गरी प्रतिवेदन दिएको थियो।
गृहको समितिले ती सबैलाई कारबाही गर्न कानुनी प्रक्रिया सुझाएको भट्टराईको भनाइ छ।
Shares
प्रतिक्रिया