खोटाङको सदरमुकाम दिक्तेलमा सञ्चालित रक क्लाइम्बिङबाट खसेर एक युवकको मृत्यु भएको छ।
दिप्रुङ चुइचुम्मा ७ घर भई हाल रुपाकोट मझुवागढी नगरपालिका १ बस्ने ३२ वर्षीय सुचन राईको क्लाइम्बिङबाट खसेर बिहीबार बेलुका मृत्यु भएको हो।
सुचन नेपाल तरुण दलका जिल्ला सदस्य हुन्।
बिहीबार साँझ अरु दुई युवासहित उनी नगरपालिकाको वडा नम्बर ५ को मझुवाभिरमा रहेको रक क्लाइम्बिङमा पुगेका थिए।
भीरको माथि पुगेपछि उनी खस्दा गम्भीर घाइते भएका थिए। साँझ साढे ६ बजे उनलाई जिल्ला अस्पताल दिक्तेल लगिएको थियो। अस्पताल साँझ ७ः४० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काले बताए।
रक क्लाइम्बिङका सामाग्री सुचनकै घरमा राख्ने गरिएको थियो। यसअघि पनि उनले त्यहाँ पटक पटक रक क्लाइम्बिङ गरिसकेका थिए। तर बिहीबार कसरी दुर्घटना भयो भन्ने अनुसन्धान गर्ने डीएसपी खड्काले बताए।
‘अहिले सबै जना पीडामा हुनुहुन्छ। सँगै गएका साथीहरु पनि कता कता हुनुहुन्छ। हामी भोलि बोलाएर यस विषयमा अनुसन्धान गर्छौं,’ डीएसपी खड्काले नेपालखबरसँग भने।
मझुवा भीरमा २० मिटर अग्लो रक क्लाइम्बिङ गत चैतबाट मात्रै सञ्चालनमा आएको हो। रक क्लाइम्बिङ सञ्चालनका लागि स्थानीय ७ जना युवा र सशस्त्र प्रहरीका ५ जनालाई तालिम दिइएको थियो।
नेपाल नेसनल माउन्टेन गाइडको सहयोगमा नगरपालिकाले पर्यटकीय गन्तव्य बनाउन रक क्लाइम्बिङ सञ्चालनमा ल्याएको थियो।
Shares
प्रतिक्रिया