आज (जेठ २८) यस वर्षको मनसुन नेपाल भित्रिएको पहिलो दिन हो। हाल पूर्वी क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव छ भने देशका बाँकी स्थानमा स्थानीय वायु, पश्चिमी वायु र बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यतिबेला (सोमबार साँझ) कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) भई बाँकी स्थानमा मौसम मुख्यतया सफा (आकाश खुला) छ। कोसी प्रदेशका एक/दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ।
महाशाखाले सोमबार (आज) साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा राति कोसी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Shares
प्रतिक्रिया