पछिल्लो ३ घण्टाभित्र देशका ४ ठाउँमा भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ११ बजे सार्वजनिक गरेको विवरणअनुसार बितेको ३ घण्टामा नवलपरासीको १, महोत्तरीको १ र सप्तरीका २ स्थानमा भारी वर्षा भएको हो।
वर्षा विवरणअनुसार नवलपरासीको परासीमा ६४.४ मिलिमिटर, सप्तरीको रुपनी बजारमा ६२.४ मिलिमिटर, सप्तरीकै कल्याणपुरमा ६१.६ मिलिमिटर र महोत्तरीको गौशालामा ५३.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।
यस अवधिमा यसभन्दा सानो मात्राको वर्षा मुलुकका विभिन्न स्थानमा भएको छ।
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ।
यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्।
यस्तै धेरै, थोरै तथा एक/दुई स्थान भन्नाले सम्बन्धित प्रदेशभरि जुनसुकै ठाउँमा वर्षा हुनसक्छ भन्ने बुझ्नुपर्छ। यही-यही ठाउँमा यस्तो वर्षा हुन्छ भनेर स्थान किटान गर्न नसकिने मौसमविद्को भनाइ छ।
Shares
प्रतिक्रिया