अविरल वर्षाका कारण शुक्रबार बिहान ३ बजे तिरको समयमा चितवन भरतपुर नगरपालिका–२९ सिमलतालमा पहिरोमा परेर बेपत्ता भएको दुईवटा बस र यात्रुहरूको खोजीमा सक्रिय टोलीले हालसम्म एकजना पनि भेटेको छैन।
बिहान १०ः३० बजेतिर देखि खोजीकार्य सुरु भएकोमा करिब ६ घण्टासम्म एकजना पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए।
‘त्रिशूली नदीमा पानीको बहाव एकदम बढेको छ,’ डिएसपी रिजालले नेपालखबरसँग भने, ‘जमेको पानी भएको ठाउँ भए उद्धारका लागि सहज हुन्थ्यो। तर एकदम उर्लेको नदी छ। राम्रोसँग खोज्न पाइएको छैन। खोजीकार्य भने जारी छ।’
त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलका ७ गोताखोरसहित ७० जनाको टोली खटिएको छ। सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको हो।
Shares
प्रतिक्रिया