गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन्।
सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित यहाँ आएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दूतावाससँग कुरा भइरहेको जानकारी दिए ।
उनले बेपत्ताको खोजी गर्न सरकारले प्रविधिसहितका पाँच सय सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको बताए।
‘यातायात व्यवसायीसँगसमेत छलफल गरेर खोजीलाई कसरी तदारुकता दिन सकिन्छ भनेर लागेका छौँ,’ उनले भने, ‘अहिलेसम्म पाँचवटा शव फेला परिसकेको छ।’
यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–२९ नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नंको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए। नदीमा बेपत्ता ६५ यात्रुमध्ये अहिलेसम्म पाँचजनाको मात्र शव फेला परेको छ। रासस
Shares
प्रतिक्रिया