ad ad

समाज


एक घण्टा लम्बियो दिन, यस्तो छ लम्बिने प्रक्रिया

एक घण्टा लम्बियो दिन, यस्तो छ लम्बिने प्रक्रिया

नेपालखबर
फागुन २२, २०७६ बिहिबार २:४९,

अंग्रेजी महिना डिसेम्बरयता दिन एक घण्टा लामो भइसकेको छ। दिनप्रतिदिन दिनको समय क्रमशः बढ्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार सबैभन्दा छोटो दिन मानिएको गत डिसेम्बर २२ तारिखमा ५ बजेर १४ मिनेटमा सूर्यास्त भएको अर्थात् घाम डुबेको थियो भने आज (मार्च ५) मा ६ बजेर ७ मिनेटमा घाम डुब्नेछ।

यस्तै डिसेम्बर २२ मा ६ बजेर ५१ मिनेटमा सूर्य उदाएको थियो भने आज (बिहीबार) ६ बजेर ७ मिनेटमा सूर्य उदाएको थियो।

यस हिसाबले करिब एक घण्टा दिन लामो भइसकेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए।

‘दिन लम्बिँदा बेलुकातर्फ बढी लम्बिने हो,’ उनले भने, ‘बिहान घाम उदाउने समय त्यति धेरै फरकमा जाँदैन।’

दिन लम्बिने क्रम जारी रहेको र सबैभन्दा लामो दिन आउने जुन २२ तारिखलाई मानिने मौसमविद् अर्यालले जानकारी दिए। 

दिनसँगै तापक्रम पनि बढ्दै
दिन जति लम्बिँदै गयो तापक्रम पनि उति बढ्दै  जाने माैसमविद्ले बताएका छन्। 

महाशाखाका माैसमविद् मीनकुमार अर्यालका अनुुसार काठमाडौं उपत्यकासहित देशभर न्यूनतम र अधिकतम तापक्रम बढ्दै गएको छ।

 यही मार्च १ तारिख (फागुन १८) अर्थात् प्रि-मनसुन सुरु भएदेखि मुलुकभर तापक्रम बढेको हो।

प्रि-मनसुन अवधि मार्च, अप्रिल, मे र जुन तापक्रम बढी हुने महिना हुन्।

महाशाखाकाे रेकर्डअनुसार हिजाे बुधबार काठमाडौंकाे अधिकतम तापक्रम २३.५ डिग्री सेल्सियस मापन भएकाे छ। 

यस्तै बुधबार धनगढीमा २९, दिपायलमा २७.२, वीरेन्द्रनगरमा २५.८, नेपालगन्जमा २८.६, दाङमा २५.७, पोखरामा २४.५, भैरहवामा २८.७, सिमरामा २९ र विराटनगरमा २८.६ डिग्री रेकर्ड भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .